के होला म्यादी प्रहरीको भविष्य ?

1389



वीरगन्ज १६ असार प्रदेश नम्बर २ मा निर्वाचन गराउने उद्देश्यले नेपाल सरकारले भर्ना गरेको म्यादी प्रहरीहरु निर्वाचनमा परिचालित नै नभई विदा हुने भएका छन् । २१ अषाढ पछि उनीहरुलाई राख्ने वा नराख्ने भन्ने निर्णय गरिने छ ।
जनकपुर अञ्चलका ६ जिल्लाहरुका लागि नेपाल सरकारले कुल ९ हजार ६३ जना म्यादी प्रहरी भर्ना गरेको थियो । धनुषामा २ हजार ५ सय ५५, महोत्तरीमा १ हजार ९ सय २३, सर्लाहीमा २ हजार ४ सय ४१, सिन्धुलीमा ९ सय ९७, रामेछापमा ५ सय ६७ र दोलखामा ५ सय ८० गरी जनकपुर अञ्चलका लागि कुल ९ हजार ६३ जना म्यादी प्रहरीहरु भर्ना गरिएको थियो । जसमध्ये धनुषामा २ हजार ४ सय १९ पुरुष र १ सय ३६ महिला, महोत्तरीमा १ हजार ७ सय ७० पुरुष र १ सय ५३ महिला, सर्लाहीमा २ हजार १ सय ७४ पुरुष र २ सय ६७ महिला, सिन्धुलीमा ७ सय ५४ पुरुष र २ सय ४३ महिला, रामेछापमा ४ सय २३ पुरुष र १ सय ४४ महिला, दोलखामा ३ सय ७५ पुरुष र २ सय ५ जना महिला म्यादी प्रहरीहरु भर्ना गरिएको थियो । कुल ९ हजार ६३ जना म्यादी प्रहरीहरु मध्ये ७ हजार ९ सय १५ जना पुरुषहरु र १ हजार १ सय ४८ जना महिलाहरु म्यादी प्रहरीका लागि भर्ना गरिएको थियो ।
जनकपुर अञ्चलमा भर्ना गरिएका ती म्यादी प्रहरीहरु पहिलो चरणको सम्पन्न भएको बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा आफ्नो भुमिका निर्वाह गरिसकेका छन् । जुन प्रयोजनका लागि तिनीहरुलाई भर्ना गरिएको थियो, सफलता पुर्वक आफ्नो भुमिका निर्वाह गरिसकेको भएपनि धनुषा, महोत्तरी र सर्लाहीमा भर्ना गरिएका ती म्यादी प्रहरीहरु चुनावका लागि परिचालित नै हुन पाएनन् । यद्यपि ती म्यादी प्रहरीहरुलाई भने अन्य कार्यको लागि खटाइएको छ ।
धनुषामा भर्ना भएका कुल २ हजार ५ सय ५५ जना म्यादी प्रहरीहरु मध्ये २ हजार ५ सय ५ जना म्यादी प्रहरीहरु मात्र कार्यरत छन् । ४९ जना म्यादी प्रहरीहरु गैरहाजिर भई अनुपस्थित रहेका छन् । र, एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय धनुषाधाममा कार्यरत रहेका धनुषा गोविन्दपुरका ३४ बर्षिय श्याम किशोर मण्डल विरामी भई जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदा उपचारकै क्रममा मृत्यु भयो ।
महोत्तरीमा भर्ना गरिएको १ हजार ९ सय २३ म्यादी प्रहरीहरु मध्ये २४ जना म्यादी प्रहरीहरु र सर्लाहीमा भर्ना भएका २ हजार ४ सय ४१ जना म्यादी प्रहरीहरु मध्ये २७ जना म्यादी प्रहरीहरु गैरहाजिर भई अनुपस्थित रहने गरेका छन् । हाल महोत्तरीमा १ हजार ८ सय ९९ र सर्लाहीमा २ हजार ४ सय १२ जना म्यादी प्रहरीहरु मात्र कार्यरत छन् ।

धनुषामा कार्यरत एक जना महिला म्यादी प्रहरी ।
त्यसैगरी सिन्धुलीमा भर्ना भएका ९ सय ९७ जना म्यादी प्रहरीहरु मध्ये ३ सय २५ जना म्यादी प्रहरीहरुले स्वेच्छिक अवकास लिएका छन् । रामेछापमा ४९ जना र दोलखामा ८४ जना म्यादी प्रहरीहरुले स्वेच्छिक अवकास लिएका छन् । अञ्चल प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार कुल ९ हजार ६३ जना म्यादी प्रहरीहरु मध्ये १ सय ३ जना अनुपस्थित रहेको, ४ सय ५८ जनाले स्वेच्छिक अवकास लिएको, ९ जनालाई हटाइएको, २ जना विरामी भएको र एक जनाको मृत्यु भएपछि हाल ६ जिल्लाहरुमा कुल ८ हजार ४ सय ९० जना म्यादी प्रहरीहरु कार्यरत रहेको छ ।
अञ्चल प्रहरी कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरीक्षक सुभाष चन्द्र चौधरीका अनुसार भर्ना भएका म्यादी प्रहरीहरु मध्ये कतिपय म्यादी प्रहरीहरु स्वेच्छिक अवकास लिएर बैदेशिक रोजगारीमा गएका छन् भने कतिपय आफ्नो पढाईलाई निरन्तरता दिन गएका छन् । सुरुमा ५५ दिनको म्याद दिएर भर्ना आह्वान गरेको बेला कतिपय व्यक्तिले नेपाल प्रहरीमा भर्नाका लागि आवेदन फारम भरेर पनि म्यादी प्रहरीमा आएका थिए । जसमध्ये बीचमै कतिपयले छोडेर नेपाल प्रहरीमा जागिर खान गए । यसरी बीचमा छोडेर गएपछि बैकल्पिकहरुमध्ये सिनियरवाईजको आधारमा बोलाएर तालिम दिई म्यादी प्रहरीमा भर्ना गरिएको प्रहरी बरिष्ठ उपरीक्षक चौधरी बताउँछन् ।
गत चैत्र ११ देखि १७ गतेसम्म म्यादी प्रहरी भर्नाका लागि आवेदन फारम आह्वान गरिएको थियो । १८ गते सम्पर्क मिति राखिएको थियो । १९ देखि २१ गतेसम्म छनौट प्रक्रिया सम्पन्न गरी २२ चैत्रमा ६ वटै जिल्लाहरुमा अन्तिम नामावली प्रकाशन गरिएको थियो । भर्ना भई छनौट भएका ती म्यादी प्रहरीहरुलाई २०७३ चैत्र २५ देखि २०७४ बैशाख ८ गते सम्म तालिम दिइएको थियो । त्यस यता छनौट भएका म्यादी प्रहरीलाई विभिन्न कार्यमा खटाइएको थियो ।
प्रहरी जवान सरह पाउने तलब, रासन भत्ता, कपडा र दैनिक चुनाव अवधिमा भत्ता लगायत अन्य सेवा सुविधा पाउनुका साथै भविष्यमा नेपाल प्रहरीको जागिर खानका लागि पर्याप्त तालिम र अनुभव समेत पाउने हुनाले म्यादी प्रहरीमा यूवाहरुको आकर्षण वढेको भन्दै प्रहरी वरिष्ठ उपरीक्षक चौधरी भन्छन,“ तराईमा महिलाहरु पुलिसमा जान अनिच्छुक रहने गरेको प्रवृति पनि हट्यो किनभने मेरो मातहतमा रहेको ६ जिल्लाहरुमा कुल १ हजार १सय ४८ जना महिलाहरु भर्ना भए । जसमध्ये तराईका जिल्लाहरु धनुषा, महोत्तरी र सर्लाहीमा पनि अपेक्षा भन्दा वढी नै महिलाहरु म्यादी प्रहरीमा भर्ना भए ।”
के फेरी थपिने हो म्याद ?
प्रदेश नम्बर २ को लागि निर्धारण गरिएको स्थानीय तहको निर्वाचनको मिति पटक पटक सारिँदै आएको छ । त्यसैगरी म्यादी प्रहरीहरुको अवधि पनि सोही अनुसार पटक पटक थपिएको छ । अहिले फेरी प्रदेश नम्बर २ को निर्वाचन मिति असोज २ का लागि निर्धारण गरिएको छ । त्यसो हो भने प्रदेश नम्बर २ मा बहाल भएका म्यादी प्रहरीहरुको म्याद फेरी असोज २ गतेसम्म थपिने हो वा होइन भन्ने कुराको अन्यौल रहेको छ । अञ्चल प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक सुभाष चन्द्र चौधरी भन्छन,“विगतमा पटक पटक म्यादी प्रहरीहरुको म्याद थपिए पनि अब प्रदेश नम्बर २ मा कार्यरत रहेका म्यादी प्रहरीहरुको म्याद थपिने सम्भावना अत्यन्तै न्यून छ । दोस्रो चरणको निर्वाचन अषाढ १४ मा हुने र मतगणना सम्म तिनीहरुलाई खटाउन सकिने हुनाले वढीमा अहिलेको लागि २१ अषाढसम्मको म्याद थपिएको छ । २१ अषाढ पछि देशैभरीका म्यादी प्रहरीहरुलाई विदाई गरिने सम्भावना प्रवल रहेको छ ।”