मधेसवादी दलहरुले आफुलाई मधेसको मसिहा ठान्छन , बरिष्ठ नेता नेपाल

604

वीरगंज १५ असार, नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले मधेसमा सबै भन्दा बढि विकास गर्ने पार्टी नेकपा एमाले रहेको भन्दै जनताको सुख, दुःखको रहेको बताउनु भएको छ ।
नेकपा एमाले महानगर संगठन कमिटिले वीरगंजमा आयोजना गरेको मुस्लिम समुदायको महान पर्व ईद उल फित्रको पावन उपलक्षयमा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नेता नेपालले मधेसवादी दलहरुले नेकपा एमाले मधेस विरोधी पार्टी रहेको भन्दै प्रचार प्रसार गरिरहेको भए पनि यो कुनै जाति, समुदाय, वर्ग, क्षेत्र, लिङ्गको पार्टी नभई नेपाली जनताको पार्टी रहेको बताउनु भयो । २०१५, २०४७, २०६२÷०६३ मा परिवर्तनको लागि भएको आन्दोलनमा नेकपा एमालेको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नु हुदै उहांले पार्टी कसैको बिरोधी नभई इमान्दार, निशपक्ष रुपमा नेपाली जनताको हितमा काम गर्दै आएको बताउनु भयो । अपाङ्ग, दलित, एकल महिला, बृद्ध भत्ताको व्यवस्था, जनता आवास कार्यक्रम, निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय बिमान स्थल, फास्ट ट्रयाक लगायतका विभिन्न कामहरु एमालेकै सरकारमा सुरु भएको दाबी गर्नु हुदै नेता नेपालले स्थानिय तहको चुनावबाट सिंहदरबारको अधिकार गाउँ, टोलमा पुग्ने बताउनु भयो । दुई चार वर्ष देखि मधेसमा राजनीतिक गर्दै आएका मधेसवादी दलहरुले आफुलाई मधेसको मसिहा ठान्ने गरेको तर नेकपा एमाले दसकौं देखि मधेस, पहाड, हिमालको विकासमा अहोरात्र काम गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका नेता एवं नेशनल मेडिकल कलेजका एमडि बसरुदिन अंसारीले दुई नं। प्रदेशको निर्वाचनको मिति बढाएर सरकारले यस क्षेत्रका जनता माथि अन्याय गरेको बताउनु हुदै चाडै भन्दा चाडै प्रदेश नं। २ को चुनाव गराउनु पर्नेमा बताउनु भयो ।
पार्टीका नगर संयोजक उसमान अंसारीको सभापतित्वमा भएको कार्यक्रममा पोलिट व्युरो सदस्य नागेन्द्र चौधरी, सांसद् राजकुमार गुप्ता, बिचारी यादव, जयप्रकाश थारु, रामचन्द्र साह, पर्सा संयोजक प्रभु हजरा, त्यसैगरी नेताहरु विश्वम्भर शर्मा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा लगायतकाले शुभकामना मनतव्य व्यक्त गर्नु भएको थियो । बृजलाल पासवानले संचालन गर्नु भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, अञ्चल प्रहरी कार्यालय नारायणीका प्रहरी बरिष्ठ उपरिक्षक सुर्य प्रसाद उपाध्याय, प्रहरी उपरिक्षक गोबिन्द कुमार साह, युवा नेता इमरान हुसैन, मनोज चौधरी, पप्पु सिंह, गगनदेव पटेल, सचिवालय सदस्य सुदिप लामा लगायतको विशेष उपस्थिति रहेको थियो ।

Comments

comments