आदिवासी जनजातिको अधिकार सुनिश्चितताका लागि संविधान कार्यान्वयन आवश्यक, संसद अमात्य

276




वीरगन्ज, १५ असार नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का संसद राजेन्द्र बहादुर अमात्यले आदिवासी जनजातिहरुको अधिकार सुनिश्चितताका लागि पनि संविधान कार्यान्वयन आवश्यक रहेको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति जिल्ला समन्वय समिति पर्साद्वारा आज आयोजना गरेको खेलाडीहरुलाई पोशाक वितरण कार्यक्रममा बोल्दै अमात्यले नेपालका आदिवासी समुदायका मागहरुलाई सम्बोधन गर्न र लोकतन्त्र गणतन्त्रको उपलब्धि रक्षाका लागि रिनन्रत प्रयासरत रहनुपर्ने बताउनुभयो । उहाँले आफ्नो अधिकार उपयोग गर्न सधैं अग्रपंत्तीमा रहनुपर्ने बताउदै बच्चा नरोए सम्म आमाले पनि स्तनपान नगराउने भएकोले आदिवासीहरुले पनि आफ्नो अधिकार प्राप्त गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । नेपाल आदिवासी जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष किरण डंगोलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका सामाजिक विकास अधिकृत धर्मराज थापाले राज्यले आदिवासी जनजातिहरुको उत्थानका लागि सबै आदिवासी जनजातिहरुले सदुपयोग गर्न सकोस भन्ने उद्देश्यले केही निश्चित रकम उपलब्ध गराएकोले जिल्लाका आदिवासी जनजाति समुदायले त्यसको सदुयोग गर्नुपर्ने बताउनुभयो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका अध्यक्ष कमल बहादुर विठाकोटे मगरले स्वागत गर्दै पर्सामा बसोवास गर्ने सबै आदिवासी जनजाति समुदायहरुले आफ्नो पहिचानका लागि संघर्ष गर्नुपरेको बताउँदै संघर्षलाई उपलब्धीपूर्ण बनाउन सबै आदिवासी जनजाति समुदायको एकताको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा नेवार, राई, मगर, गुरुङ्ग, तामाङ, धानुक, उरावँ, थारु समुदायका ७० जना खेलाडीहरुलाई खेलकुद पोशाक वितरण गरिएको थियो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साका सचिव निरज पिठाकोटे मगरले संचालन गरेको कार्यक्रमा थारु कल्याणकारिणी सभाका उपाध्यक्ष बालेश्वर गौरो, धानुक समाजका जंगी महतो धानुक, उरावँ समाजका प्रभु उरावँ, तमु गुरुङ समाजका आश बहादुर गुरुङ, किराँत राई यायोक्खाका जगत राई लगायतको उपस्थिति रहेको थियो ।

Comments

comments