×

० चुनाव बिथोल्ने राजपाको पूर्वनिर्धारित कार्यक्रममा तपाईहरू केही लचिलो हुनुभएको हो ?

– हाम्रो पूर्वनिर्धारित कार्यक्रम यथावत् रहेको छ । सोहीअनुुसार हामी दृढताका साथ अगाढि बढेका छौं । आज (शनिबार) हामीले मधेसभर अन्तरक्रिया कार्यक्रम राखेका छौं । हामीले १४ गते मधेस, थरुहट तथा लिम्बुवान बन्द कार्यक्रम राखेका छांै ।

० तपाईहरूले १० गतेदेखि अनिश्चितकालीन बन्दको कार्यक्रम राख्नुभएको थियो, अब एकदिन मात्र राख्नुभयो, आन्दोलनको कार्यक्रम छोट्याउनु भएको हो ?

– पहिले हामीले असार १० देखि १४ गतेसम्म बन्दका कार्यक्रम राखेका थियौं । यो बीचमा मुस्मिल दाजुभाइ तथा दिदीबाहिनीहरूको इद पर्व परेकाले त्यसलाई मध्यनजर राखेर हामीले बाँकी आन्दोलनका कार्यक्रम फिर्ता गरी १४ गते एकदिन मात्र बन्द राखेका हौं । १४ गते सरकारले स्थानीय निर्वाचनको नौटंकी रचेको छ । स्थानीय निर्वाचन धोका हो, यो निर्वाचन मधेसी, दलित, आदिवासी जनतामाथिको घात हो भनी हामीले त्यसैदिन बन्दको कार्यक्रम राखेका हौं ।

० तर जिल्ला जिल्लामा तपाईका कार्यकर्ताहरूले चुनावमा उम्मेदवारी दिएका छन् नि ?

– जो राजपाका नेता तथा कार्यकर्ता हुन्, उनीहरू आन्दोलनमा छन् । र, चुनाव अवरोध गर्ने अभियानमा छन् । जो चुनावमा गएका छन्, ती हाम्रा कार्यकर्ता होइनन् । चुनावमा गएको मान्छेसँग हाम्रो कुनै नाता सम्बन्ध छैन ।

० तर राजपामा नगर समितिमै रहेकाहरूले उम्मेदवारी दिएका छन्, उनीहरू पनि राजपाका होइनन् र ?

– नगर समितिका हुन् या केन्द्रीय समितिका हुन्, चुनावमा उम्मेदवारी दिए भने उनीहरू अब राजपाका मान्छे होइनन् । जुन दिनसम्म उनीहरूले हाम्रो आन्दोलनलाई सक्रिय समर्थन गरे, त्यो दिनसम्म राजपाका कार्यकर्ता थिए, तर चुनावमा गएदेखि राजपामा उनीहरू रहेनन् ।

० तपाईहरूले चुनावमा उम्मेदवारी दिनेहरूलाई कारबाही गर्छांै भन्नुभएको थियो, तर गर्न सक्नु भएन नि ?

– हामी पार्टीको नीतिविपरीत चुनावमा जानेहरूको संख्या खोज्दै छौं । कहाँ कहाँ उम्मेदवारी परेको हो, अहिले खोज्दै छांै । उम्मेदवारी दिएकाहरूलाई कारबाही गर्छांै ।

० राजपाकै केन्द्रीय नेताहरूले आफ्नै पार्टीका कार्यकर्ता चुनावमा गएका छन्, कारबाही गर्न सकिँदैन भनेका छन् नि ?

– नेताहरूको आ–आफ्नो विचार हुन्छ । पार्टीको आधिकारिक विचार र नीति स्थानीय निर्वाचन धोका हो, यसमा सहभागी नहुने भन्ने हो । र, यसको सम्पूर्ण प्रक्रियामा अवरोध गर्ने भन्ने पार्टीका लाइन प्रस्ट छ । सरकारले हाम्रो पार्टीका कार्यकर्ताहरूमाथि ज्यादती गरेको छ । कार्यकर्ताहरूलाई पक्रेर झुटा मुद्दा लगाउने काम गरिएको छ । हाम्रो जिल्ला अध्यक्ष, उपाध्यक्षहरू अहिले थुनामा छन् । पार्टी नीतिअनुरूप सबै कुरालाई हामी अगाडि बढाउँदै छौं । चुनावमा सहभागी हुने पार्टीको नीति कार्यक्रम केही पनि छैन ।

० चुनाव बिथोल्ने तपाईहरूको कार्यक्रम त्यति प्रभावकारी भएन, ठाउँठाउँमा चुनावका कार्यक्रम भइरहेका छन् नि ?

– चुनाव नै भएको छैन, कसरी कार्यक्रम प्रभावकारी भएको छैन भन्नु हुन्छ ?

० तपाईहरूले उम्मेदवारी फिर्ता लिन लगाउने भनी दबाबमूलक कार्यक्रम गर्न‘भएको थियो, तर कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् नि ?

– राज्यले हाम्रो पार्टीका कार्यकर्तालाई लगातार थुनेको छ । राज्यले आतंक मच्चाएको छ, तर पनि तपाईहरूले कार्यक्रम प्रभावकारी भएन भन्नु हुन्छ ?

० उम्मेदवारी फिर्ता गराउन सक्ुन भएन नि ?

– हामीले भनेका मात्रै हौं, बन्दुक तेर्साउने होइन नि । हामीले छापामार आन्दोलन गरेका होइनौं । संसदीय लोकतान्त्रिक मूल्य र मान्यताअनुसार शान्तिपूर्ण आन्दोलन गरेका हौं । शान्तिपूर्ण ढंगबाट सबैलाई भन्ने र आफ्ना कार्यकर्तालाई अगाडि बढाउने हाम्रो नीति हो । हामीले शान्तिपूर्ण किसिमबाट आन्दोलनका गतिविधि अगाडि बढाइरहेका छौं ।

० राजपा निर्वाचनमा नजाँदा पार्टीका कार्यकर्ता कोही एमालेमा, कोही फोरममा कोही लोकतान्त्रिक फोरममा गएका छन्, यसबाट तपाईहरूलाई घाटा भएन र ?

– हामीले पसल थापेर नुनतेल बेच्ने काम गरेका छैनौं । पसल थापेर नुनतेल बेच्नेहरूलाई मात्र कुन बेला बेच्दा घाटा हुन्छ, कुन बेला फाइदा हुन्छ भन्ने थाहा हुन्छ । हाम्रै देशमा नेपाली कांग्रेसले तीस वर्षसम्म चुनाव बहिष्कार ग¥यो, उसलाई के घाटा के नाफा ? माओवादीले दस वर्षसम्म जनयुद्ध गर्दा चुनावमा गएन । त्यसैले यो घाटा नाफाभन्दा पनि मधेसी जनताको मुक्तिको सवाल हो । यो मुक्तिको सवालमा जबसम्म हाम्रो मुद्दा सम्बोधन हुँदैन, हामी चुनावमा जाँदैनौं । यो मधेसको मात्र होइन, मधेसी दलित, आदिवासी जनजाति, मुस्मिल, थारु सबैको मुद्दा हो । चुनाव हाम्रो लागि कुनै ठूला कुरो होइन । चुनाव आउँछ जान्छ । तर ठूला कुरा मुद्दा हो । राजा ज्ञानेन्द्रले पनि चुनाव गराए, त्यसको कुनै वैधानिकता रहेन । यो चुनावको पनि हविगत त्यस्तै हुन्छ ।

० राजपाका कार्यकर्ताहरू उपेन्द्र यादवको पार्टीतिर दिनदिनै गइरहेका छन् नि ?

– दुःखको समयमा कायकर्ताको पहिचान हुन्छ । अहिले राष्ट्रिय जनता पार्टी नेपाल मधेसी जनताको मुक्तिको सवालमा दुःखको घडीमा छ । यसमा हाम्रा कार्यकर्ता दृढताका साथ उभिएका छन् । जो अवसरवादी छन्, उनीहरू आउँछन् जान्छन् । त्यसको कुनै अर्थ रहँदैन । ज्ञानेन्द्रले ‘कु’ गर्ने बेलामा पनि केही मान्छे कांग्रेस, एमाले छाडेर ज्ञानेन्द्रतिर गएका थिए । २०१७ सालमा महेन्द्रले ‘कु’ गर्ने बेलामा बीपी कोइरालाको क्याबिनेटका केही मान्छेले महेन्द्रलाई समर्थन गरेका थिए । त्यसैले राजनीतिमा यस्तो भइरहन्छ । त्यो त्यति अनौठो र अस्वाभाविक कुरा होइन । अवसरवादी साथीहरू जान्छन् । निष्ठावान साथीहरू हामीतिरै छन् ।

० राजपा तेस्रो चरणमा असोज २ गते निर्वाचनमा जान्छ, होइन ?

– असोज २ गते धेरै टाढा छ । यो असार १४ गतेको चुनावपछि राजनीतिको परिदृश्य के हुन्छ ? राज्यको व्यवहार के हुन्छ ? हाम्रो मागबारे राज्यको दृष्टिकोण के हुन्छ ? त्यो हेर्न बाँकी छ । राज्यले हाम्रो माग सम्बोधन ग-यो भने मात्र हामी चुनावमा जानुको अर्थ हुन्छ । तर हाम्रो कुरा सुनेन र मागहरू सम्बोधन भएनन् भने असोज २ गतेको चुनाव पनि अहिलेको जस्तै हुन्छ । प्रस्ट भन्नुपर्दा, जबसम्म हाम्रो माग पूरा हुँदैन, हामी चुनावमा जान्नांै ।

० असोज २ गतेअघि नै संविधान संशोधन गरेर तपाईहरूको माग पूरा गर्नु प¥यो, होइन ?

– त्यसमा बसेर छलफल गर्न सकिन्छ । संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धि हाम्रो माग हो । अरु प्रदेशमा चुनाव भए पनि २ नम्बर प्रदेशमा स्थानीय तहको संख्या थपेर एउटा दृष्टिकोण बनाउन सकिन्छ ।

० मधेस र संविधान संशोधनको मुद्दा बोकेरै चुनावमा जानुपथ्र्यो भन्नेहरू पनि धेरै छन्, जान सकिँदैनथ्यो र ?

– मधेसका मुद्दा बोकेर चुनावमा जानेहरू पनि छन् । राष्ट्रिय जनता पार्टीलाई यस कुरामा चित्त बुझेन । हामी मुद्दा बोकेर चुनावमा जान सक्दैनथ्यौं । हामी चुनामा जानु भनेको यो संविधानको स्वीकार्यतालाई मान्नु थियो र संविधाननको कार्यान्वयनलाई स्वीकार गर्नु थियो । यथास्थितिमा यो संविधान कार्यान्वयन हुनु हँुदैन भन्ने विचार राखेको हाम्रो पार्टी मुद्दा बोकेर चुनावमा जान सक्दैनथ्यो । त्यसरी हामी जाँदैनौं पनि । पहिले संविधानको स्वीकार्यलाई बढाऔं । संविधान संशोधन गरौं । त्यसपछि मात्र संविधान कार्यान्वयनको बाटोमा जाऔं भन्ने हाम्रो भनाइ हो ।

० संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपाको आन्दोलनले केही फरक पर्दैन, चुनाव हुन्छ भनिरहेका छन् नि ?

– उपेन्द्र यादवजीले के बोल्नु हुन्छ ? कहाँ बोल्नु हुन्छ ? हामीले त्यसको सबै हेक्का राखिराख्नुपर्ने आवश्यकता छैन । उहाँले मधेसी जनतलाई कसरी जवाफ दिइरहनुभएको छ, त्यो उहाँको कुरा हो । उहाँले गरेको काम ठीक छ भन्ने लाग्यो भने मधेसी जनताले उहाँका उम्मेदवारलाई माला लगाएर पठाउलान् नि । हामी हेर्दैछांै । तर अहिले उपेन्द्र यादवलाई पनि मैले गरेको यो काम ठिक होइन भन्ने लागेको होला । लोकतान्त्रिक मधेसी मोर्चामा रहँदा जे कुरा मैले बोलें, त्यो कुराको ग्यारेन्टी आज भएन, तर पनि म चुनाव आएको छु भन्ने उहाँलाई लागेको होला । सायद उहाँलाई अहिले आत्मग्लानि भएको होला । त्यो कुरा उहाँले विस्तार स्वीकार गर्नु होला । तर कुन पार्टीले के भन्यो ? त्यसको पछाडि राजपा लाग्दैन । व्यक्ति र पार्टीसँग हाम्रो कुनै सरोकार छैन । राज्यले हाम्रो माग पूरा गर्नु पर्छ । होइन भने हाम्रो संघर्ष जारी रहन्छ ।

Back to top