राजपाको आन्दोलन प्रायोजित – प्रदीप यादव

5874

मधेसमा अशान्ति मच्चाएर मधेस मुद्दालाई २२ जिल्लाबाट ८ जिल्लामा खुम्च्याएको राजपा ६ वटा टुक्राटुक्री पार्टीको स्वाभाविक एकीकरण होइन्। निहित उद्देश्यका लागि कसैद्वारा ‘एसम्बल’ भएको पार्टी हो।

हामी आन्दोलनमा बन्दूकको ‘बुलेट’ (गोली) को सामना गरिरहँदा हाम्रा साथीहरू दमनकारी सरकारको बुलेट छाती र निधारमा थापेर सहिद भइरहँदा मनिष सुमन भन्ने व्यक्ति काठमाडौं बसेर मिडियामा वक्तव्यबाजी गरिरहेका थिए। पटक–पटकको मधेस आन्दोलनका अग्रणी नेतृत्वकारी तथा आममधेसीका जननेता उपेन्द्र यादवबारे उनैले ‘पैसा लिएर चुनावमा गएको’ भन्ने टिप्पणी गरेका छन्।

बकबास टिप्पणी गर्ने दुस्साहस गरेका ती मनिष वास्तवमा को हुन त? उनी र उनका ‘आका’ हरू माथि कैयौं सवाल उभिएको भन्ने बिर्सेछन् शायद। राजपा आन्दोलनको असलियतमाथि यतिखेर फेरि प्रकाश पार्न जरुरी भएको छ। एकातिर देशमा गणतन्त्रसंँगै प्रतिस्थापित दरबारिया प्रतिगमनकारी शक्तिहरू चुनाव नहोस् भन्ने खेलमा लागेका छन्, अर्कोतिर सो सपना साकार गर्ने हरसम्भव प्रयास कसले गरिरहेको छ, चित्रण गरिरह्नुपर्दैन, घामजस्तै छर्लंग छ। फोरम नेपाल मधेसमा सबभन्दा ठुलो राजनीतिक शक्ति भएकोले राजपाले लिएको ‘ठेक्का’ को ‘हरियो घाँस’ देखाउने दुस्साहस गर्नेलाई हामीले फर्काएको कडा जवाफको नतिजा हो, पछिल्लो ४ दिने राजपाको आन्दोलन सरकार होइन, हाम्रो पार्टीप्रति लक्षित देखियो। चूप लागेर बस्दा कुरो सामान्य हो भनियो भने संगीन छ।

तत्कालीन सद्भावना पार्टीको कार्यालय खोल्ने र बन्द गर्ने ‘ड्युटी’ बाट क्यारियर सुरु गरेका सुमन सो पार्टीभित्र ‘चाप्लुस’ मात्र गनिँदैनन्, बिनाराजनीतिक लगानी नै नेताको सम्बोधन पाउने ‘धूर्त’ पनि हुन्। पछिल्लो ६ महिने मधेस आन्दोलनमा ६ दिन पनि जनताबीच गएर आन्दोलनमा भाग लिएको प्रमाण, तस्बिर, समाचार वा दृश्य–श्रव्य सामग्री उनले देखाउन सके पंक्तिकारले आफ्नो दाबी आफँै खण्डन गर्दै क्षमा माग्नेछ।

स्मरणमा अलिक पछाडि लैजान चाहेको छु। वीरगन्ज सहरमा आन्दोलन गर्दा सरकारी दमन अथेगनीय भएपछि हामी ‘नो मेन्स ल्यान्ड’ नजिक गएर नाकाकेन्द्रित आन्दोलन सुरु गर्‍र्यौ। वीरगन्जको त्यो ‘बन्द नाका उतिबेला मधेसभरका आन्दोलनकारीका लागि काशी र मक्का’ भयो। मनिषको नाकमुख भने देखिएन। किनकि उनी आन्दोलनकारी नै होइनन्। उनी काठमाडौं बसेर मिडियामा मधेसको प्रतिनिधित्व गरेर बोल्दै चर्चामात्र बटुलिरहे। उनका केन्द्रीय अध्यक्ष राजेन्द्र महतो आफ्ना हुँदै नभएका कार्यकर्तासँग ‘बिनासेनाको सेनापति’ जस्तै पुगेर आन्दोलनको श्रेय बटुलिरहे। हामीलाई ‘पब्लिसिटी’ मा मतलब थिएन, आन्दोलनमा सहभागिता बढाउन र सहभागीहरूको रेखदेखमा दिन/रात खटिरह्यौं। दिन/रात प्रहरीको दमनको सामना गरी बस्यौं। आधा घण्टाका लागि पुग्ने महतो भने मिडियामा मात्र छाइरहे।

नेता, कार्यकर्ता र जनता सडकदेखि सिमानासम्म संघर्ष गरिरहँदा मधेसको धर्तीमा नओर्लेका सुमनलाई संघीय समाजवादी फोरम, नेपालको ‘टोल एकाइ’ का कार्यकर्तामाथि टिप्पणी गर्ने पनि नैतिक आधार र राजनीतिक हैसियत छैन्। आखिर उनले कसरी उपेन्द्र यादव जस्तो व्यक्तित्वउपर हिलो छ्याप्ने दुस्साहस गरे? राजपाले अहिले प्रायोजित उद्देश्यका लागि गरेको आन्दोलनका एक प्रायोजकका प्रतिनिधि भएरमात्र उनले त्यसो गरेको हामीलाई प्रस्ट थाहा छ।

राजपका केही नेताले अमर्यादित र आपत्तिजनक टिप्पणी गर्न थालेका क्रममा सुमनको यो अभिव्यक्ति कडीमात्र हो। संयम नछाड्न आमकार्यकर्तामा आग्रह गरेका छौं हामीले। नभए मधेसमा मुठभेडको हरसम्भव प्रयास राजपाले गरेकै हो। मधेसमा अशान्ति मच्चाएर मधेस मुद्दालाई २२ जिल्लाबाट ८ जिल्लामा खुम्च्याएको राजपा ६ वटा टुक्राटुक्री पार्टीको स्वाभाविक एकीकरण होइन्। निहित उद्देश्यका लागि कसैद्वारा ‘एसम्बल’ भएको पार्टी हो। नभए ‘घर के ना घाट के’ अवस्थामा पुग्ने आन्दोलन उसले गर्ने थिएन। आन्दोलन एक दिनमै, आजको आजै सफल हुने कुरा हो र?

नेपालमा दुई दशकदेखि स्थानीय चुनाव नभएकाले यो तह प्रतिनिधिबिहीन छ। यसबीचमा बजेट कति आयो र गयो, विकासको नाममा। तर विकास भएन। मुलुक राजनीतिक लडाइँमा अल्भि्करहन बाध्य भयो। हामीले समेत अगुवाई गरेर पछिल्लो १० वर्षमा अधिकारको लडाइँ सशक्त पार्दै पटकपटक आन्दोलन गर्‍र्यौ। जसमा सयौं बढी मधेसी सहिद भए। हजारौं घाइते भए। फलस्वरूप देशमा उल्लेखनीय राजनीतिक परिवर्तन पनि भएको छ।

हाम्रा सबै माग पूरा नभए पनि, मधेस आन्दोलनले केन्द्रीकृत शासनलाई संघीय व्यवस्थामा रूपान्तरित गरेको छ। स्थानीय तहमा यति धेरै अधिकार आयो। संघीय, प्रान्तीय र स्थानीय गरी तीन तहको सरकार रहने संवैधानिक व्यवस्था छ अहिले। पहिले केन्द्रीय सरकारमात्र थियो। अहिलेको स्थानीय तहको निर्वाचन त्यही ‘स्थानीय तहको सरकार’ को हो। निश्चितरूपमा मधेसमा जनसंख्याका आधारमा स्थानीय तह छैन्, मधेस आन्दोलनले अघि सारेको सबै माग संविधानमा समेटिएको छैन्। त्यसका लागि लडाइँ त लड्नै छ। तर स्थानीय तहको सरकार, जुन नयाँ संविधान अनुसारको सबभन्दा शक्तिशाली सरकार हो, त्यसमा हामीले किन प्रतिनिधित्व नगर्ने? सवालमा चुनावमा गयौं।

हामीले जनताबीच बसेर नयाँ कार्यशैली देखाउने र जनताका लागि, विकासका लागि तथा सुशासनका लागि राजनीति गरेका हौं भन्ने अनुभव गराउने र सेवा गर्ने यो अवसर गुमाउन चाहेनौं। अधिकारको आन्दोलन भने चलि नै रहन्छ। र, एक दिन हामी मधेसी, जनजाति, दलित, पिछडिएका र सबै उपेक्षित जातजाति, वर्ग र समुदायको अधिकार लिएरै छाड्छौं भन्नेमा प्रतिबद्ध छौं, अडिग छौं। अहिलेको समयमा आएको मौका नगुमाउँदै आफ्नो गाउँठाउँको विकासका लागि, जनताका लागि, जनताको पक्षमा चुनाव लड्नु छ र जित्नु छ।

राजनीतिक संस्कार प्रदर्शन गर्दै पछिल्लो समयमा संयमता अपनाएको फोरम नेपालप्रति लक्षित गरी संयमताको फाइदा उठाउने प्रवृत्ति बढेकामा आपत्ति छ। निर्वाचन बिथोल्ने गैरलोकतान्त्रिक गतिविधिमा लागेका राजपा नेताहरूसँग राजनीतिक अजेन्डा नै नभएकाले अरुको चरित्र हत्या गर्ने, निराधार भ्रम सिर्जना गर्ने र बद्नियतपूर्ण आरोप लगाउने जस्ता घटिया कार्यमा उत्रेका छन्। सडकमा असफल भएपछि ‘लगानीकर्तालाई कुन मुख देखाउने?’ भनेर अहिले नाटक मञ्चनमा लागेका राजपाका नेताहरूको भण्डाफोर नगरेरै मात्तिएका हुन् भने यो आलेखले अलिक सहयोग गर्ला।

जसको घर खर्चसमेत नेपालमा रहेका बाहिरी स्वार्थशक्तिको लगानीबाट चल्छ, त्यही सुमन र अरु केही सोही प्रवृत्तिका व्यक्ति अहिले बढी बान्ता गर्दैछन्, सामाजिक सञ्जालको भित्तामा। कसैको धैर्यमाथि अनावश्यक प्रहार दोहोर्‍याइरह्नु आफ्नै लागि आत्मघाती हुन्छ भन्ने सुमन र राजपा नेताहरूले नबुझेका हुन् वा जानेर पनि अन्जान भएका हुन थाहा छैन्। उनीहरूको मुकुण्डो उतार्नु मैले आफ्नो धर्म ठानेँ।

संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष तथा गत मधेस आन्दोलनमा जनपरिचालन समितिको संयोजक

Comments

comments