ठाकुरजी मलाई केही समय दिनुहोस्, म तपाईहरुको माँग पूरा गर्ने छु – देउवा

7726




वीरगन्ज ७ असार । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । एक हप्ता लामो तराई यात्रा सम्पन्न गरेर हिजो साँझ काठमाडौं आईपुगेका राजपा संयोजक ठाकुरले आज प्रधानमन्त्री देउवासँग गम्भिर छलफल गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको उक्त भेटवार्तामा दुई नेताहरुवीच मुलुकलाई निकास दिनको लागि कसरी अघि बढ्ने भन्नेबारेमा कुराकानी भएको थियो ।

ठाकुरलाई सहमतिमा ल्याउनको लागि गम्भिर मुद्रामा प्रस्तुत भएका कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै राजपाका सबै माँगहरु पूरा गराउन आफूले पहल गर्ने वचनवद्धता दिए ।

देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘ठाकुरजी मलाई केही समय दिनुहोस्, म तपाईहरुको माँग पूरा गर्नको लागि गम्भिर छु, मन्त्रिपरिषदबाट राजनीतिक माँगहरु पूरा गर्छु।’
प्रधानमन्त्री देउवाले असार १४ गतेको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै प्रदेश नम्बर दुईमा जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप्नेपनि ठाकुरसँग वचनवद्धता जनाए ।

त्यस्तै उनले संविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाई पुर्याउनको लागि आफूले सक्दो कसरत गर्ने पनि प्रतिबद्धता जनाए । उनले भने,‘चुनाव सम्पन्न भएलगत्तै अर्को तेस्रो चरणको निर्वाचन जो, असोज २ को चुनावमा तपाईहरुलाई सहभागी गराउछौं।’

देउवाले ठाुकरलाई राजपाका माँग सम्बोधन गर्ने कुरामा वर्तमान सरकार गम्भिर रहेकोले ढुक्क रहन आग्रह गरेका थिए । देउवाको भनाई उद्धृत गर्दै फेरि स्रोतले भन्यो,‘ठाकुरजी, म बोलेको कुरा पूरा गर्छु, मलाई विश्वास गर्नुहोस्।’

तर जवाफमा अध्यक्ष ठाकुरले आफूले कांग्रेसका धेरै शीर्ष नेता भोगेका्े स्मरण गराए । उनले विपी, गणेशमान, कृष्णप्रसाद, गिरीजाप्रसाद, सुशिल कोइरालादेखि शेरबहादुरसम्म आफूले भोगेको स्मरण गर्दै देउवालाई उनको नेतृत्वमा समस्या समाधान होला भन्नेमा आफूलाई अत्यन्तै कम विश्वास रहेको बताए ।

ठाकुरको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तपाईको नेतृत्वमा अझैपनि समस्या समाधान हुन्छ भन्नेमा म विश्वस्त छैन । झापादेखि कञ्चनपुरसम्म हामी दुई प्रदेश चाहन्छौं, तर यसको मुख्य विरोध त तपाई नै हो नि, अनि कसरी समाधान होला त समस्या ?’

अन्तिममा प्रधानमन्त्री देसवाले आफूलाई पूनः एक पटकलाई विश्वास गर्नको लागि ठाकुरसँग आग्रह गरेका थिए । देउवाले फेरि भने,‘ म चौथोपटक प्रधानमन्त्री बनेको छु, सायद यो मेरो अन्तिम पटक हो, त्यसैले मलाई विश्वास गर्नुहोस्, म तपाईहरुको माँग पूरा गराएरै छोडछु ।’

यता अध्यक्ष ठाकुरले अन्तिममा देउवालाई तपाईको कुरा सुनेपछि आनन्द आएको भन्दै मन्द मुस्कान छोडेर बैठकबाट बाहिरिएका थिए । प्रधानमन्त्री देउवा असार १४ को निर्वाचनमा डढेलधुरा जाने र भोट हालेर मात्रै अब काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

Comments

comments