हडतालको मारमा वीरगञ्ज : १ दिन बन्द = १ अर्ब नोक्सानी

1652

वीरगञ्ज ६ असार उद्योगी व्यवसायी मात्र होइन, स्वयम् मधेशकेन्द्रित दलकै कार्यकर्ता वीरगञ्ज क्षेत्रलाई बन्दहडतालबाट मुक्त राख्नुपर्ने पक्षमा भाषण गर्छन् । तर, राष्ट्रिय जनता पार्टी नेपालको निर्वाचन बिथोल्ने रणनीतिबाट मुलुकको प्रमुख आर्थिक केन्द्र फेरि चपेटामा पर्न थालेको छ ।

संविधान घोषणा भएलगत्तै त्यसको विरोध गर्दै २०७२ सालमा तराई मधेश ६ महीनासम्म अशान्त बन्यो । अघोषित नाकाबन्दीका कारण त्यतिबेला मुलुकले नै सास्ती बेहोर्‍यो । अन्तरराष्ट्रिय व्यापारको मुख्य केन्द्र वीरगञ्जमा भएको अवरोधले उद्योगी/व्यवसायीले त्यतिबेलै अन्य नाका प्रयोगको विकल्प खोज्न थालेका थिए । करीब डेढ वर्षको सहजतापछि फेरि शुरू भएको छ, बन्दको प्रकोप । पछिल्ला ६ दिनमा राजपाले ५ दिन जवजस्र्ती बन्द गराइसकेको छ । ‘राजनीतिक बन्दहडतालबाट उद्योग र व्यापार नराम्ररी प्रभावित हुन पुगेका छन्,’ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले भने, ‘प्रत्येकजसो आन्दोलनमा यहीँका उद्योग र व्यापार निशानामा पर्नु विडम्बना हो ।’

जबकि, यसअघि असार १४ का लागि तोकिएको स्थानीय तह निर्वाचन प्रदेश २ को हकमा सरकारले असोज २ मा सारिसकेको छ । निर्वाचनका गतिविधि नै नभएको प्रदेशमा राजपाले भने आन्दोलन जारी राखेको छ । चुनावी गतिविधि नै नभएको क्षेत्रमा आन्दोलन गर्न नहुने मत बलियो बन्दै गएको छ । तर, राजपा नेताहरूले त्यसको सुनुवाइ गरेका छैनन् । नेताको निर्देशन मान्नैपर्ने बाध्यताका कारण मात्र सडकमा छन्, कार्यकर्ता ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको एक अध्ययनअनुसार यस क्षेत्रमा हुने १ दिनको बन्दबाट मात्र करीब १ अर्ब रुपैयाँबराबरको नोक्सानी हुने गर्छ । ‘उद्योग र व्यापार बचाउने हो भने आन्दोलनकारीले विरोधको स्वरूप फेर्नुपर्छ,’ सङ्घका निवर्तमान अध्यक्ष प्रदीपकुमार केडिया भन्छन् ।

यसअघिका आन्दोलनहरूमा मधेशको निजीक्षेत्रले पनि सक्रिय सहभागिता जनाएको थियो । तर, पछिल्ला दिनमा बन्दहडतालबाट समस्या समाधान नहुने निष्कर्षमा निजीक्षेत्र पुगेको छ । आन्दोलनको स्वरूपप्रति विमति जनाउँदै आएको छ । ‘राजनीतिक एजेण्डामा निजीक्षेत्रको विमति छैन । उद्योग, व्यवसायलाई धराशयी बनाउने आन्दोलनको स्वरूप भने ठीक भएन,’ अध्यक्ष शर्माले भने ।

प्रदेश २ को आर्थिक सामर्थ्यको मुख्य आधार पनि हो, वीरगञ्ज । त्यसैले यसको सम्भाव्यता गुम्न दिन नहुने उद्योगी/व्यवसायीको मत छ । ‘पछिल्लो समयमा वीरगञ्जको आर्थिक विशिष्टता र सम्भावनामाथि नियोजित प्रहार भइरहेको छ । यो राम्रो सङ्केत होइन,’ एक उद्यमीले भने ।