इन्धन युरो फोर, गाडी युरो थ्रीकै !

391




वीरगञ्ज असार नेपालमा युरो फोर मापदण्डको इन्धन आयत हुन थाले पनि गाडी भने पुरानै मापदण्डका भित्रिइरहेका छन् । वातावरण विनाश न्युनीकरणका लागि युरो फोर मापदण्डका गाडी तुलनात्मक प्रभावकारी हुने भए पनि सरकारले अहिलेसम्म यो प्रविधिका गाडी आयातमा चासो देखाएको छैन । नेपाल आयल निगमले विगत साढे २ महीनादेखि युरो फोरको पेट्रोलियम भित्र्याइरहेको छ । तर, यो इन्धन प्रयोग हुने सवारीका सधान भने अहिलेसम्म युरो थ्री मापदण्डकै आयात भइरहेको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ ।  निगमको वीरगञ्ज क्षेत्रीय कार्यालयका प्रमुख उपेन्द्र नेपालले गत अप्रिल १ देखि युरो फोर मापदण्डको डिजल र पेट्रोल आयात भइरहेको बताए । ‘भारतमा युरो फोरको इन्धन उत्पादन भएकाले हामीकहाँ पनि त्यही मापदण्डको इन्धन आयात भइरहेको छ ।’ उनले भने । भारतले अप्रिल १ देखि युरो फोरको इन्धन उत्पादन र आपूर्ति गरिरहेको छ ।  युरो फोरको पेट्रोलियम जाँचपास गर्ने भन्सारका अधिकारी त्यही इन्धन प्रयोग हुने गाडी भने युरो थ्री मापदण्डका पास गरिरहेका छन् । वीरगञ्ज सबैभन्दा बढी गाडी आयात हुने नाका हो ।वीरगञ्ज भन्सारका प्रमुख सेवन्तक पोखरेल गाडी आयातमा यो मापदण्ड तोक्ने काम यातायात व्यवस्था विभागको क्षेत्राधिकारमा पर्ने बताउँछन् । ‘यातायात विभागले जुन मापदण्डको गाडी पास गर्नु भन्छ, हामीले त्यहीअनुसार गर्ने हो,’ भन्सार प्रमुख पोखरेलले भने ‘कुन मापदण्डको गाडी भित्रिन दिने÷नदिने यो यातायात विभागको क्षेत्राधिकारको कुरा हो ।’  युरो फोरको इन्धन र गाडीको प्रयोगले सवारीबाट धुँवा र प्रदुषण उत्सर्जन कम हुने भएकाले वातावरणीय क्षति न्यून हुने जानकारहरू बताउँछन् । यसबाट वातावरण विनाशको मुख्य कारण मानिएका हानिकारक ग्यासको उत्सर्जन कम हुने र इन्धनको खपत पनि घट्ने उनीहरूको भनाइ छ । भारतले अप्रिल १ देखि पेट्रोलियम उत्पादनमा यो मापदण्ड लागू गरेर युरो थ्री (बीएस थ्री)का गाडीको दर्तामा समेत रोक लगाएको छ । भारतले सन् २०१० मा थुरो थ्री लागू गरेको थियो । त्यही वर्ष १३ सहरमा हलुका सवारी साधन कारमा लगाइएको युरो फोर (बीएस फोर)लाई यही अप्रिलदेखि सबै खालका गाडीमा देशैभरि अनिवार्य गरेको हो । गाडीहरूले उत्सर्जन गर्ने धुँवाबाट सबैभन्दा बढी वातावरण विनाश हुने गरेको विभिन्न अध्ययनले प्रमाणित गरिसकेकाले सरकार यसका संवेदनशिल हुनुपर्ने ओम्नी मोटर्स प्रालिका अध्यक्ष राजेन्द्र काबरा बताउँछन् । ‘वातावरण  विनाश साझा समस्या भएकाले न्यूनीकरणको प्रविधिमा जान ढिला गर्नु हुँदैन । हामीकहाँ ल्याइने गाडीमा पनि युरो फोरको मापदण्ड अनिवार्य गरिनु पर्छ,’ अध्यक्ष काबराको भनाइ छ । भारतमा युरो थ्री मापदण्डका ८ लाख २० हजार गाडी बिक्री हुन बाँकी रहेकोले त्यस्ता साधन अहिले धमाधम नेपालमा भित्रिइरहेका छन् । उत्पादक कम्पनीका नेपालस्थित आधिकारिक आयातकर्ताले तिनै गाडी आयात गरिरहेका छन् । विगतमा पनि भारतमा युरो थ्री लागू भएको १ वर्षपछिमात्र नेपालमा यो मापदण्ड कार्यान्वयनमा ल्याइएको थियो । भारतले सन् २०२० सम्ममा गाडीमा युरो सिक्सको मापदण्ड कार्यान्वयन गर्ने तयारी गरिरहेको छ ।

Comments

comments