×

वीरगन्ज ३१ जेठ आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्तारुढ दलले वार्तामा आउन आह्वान गरेको छ । तर राजपाले यथास्थितिमा वार्तामा सहभागी नहुने प्रतिक्रिया दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको एमालेसहित चार दलको बैठकले बुधबार दिउँसो चार बजे वार्तामा आउन राजपालाई आह्वान गरिएको छ । बैठक पछि प्रमुख दलका नेताहरुले राजपाका नेताहरुलाई टेलिफोन गरी बुधबार छलफलमा सहभागी हुन आग्रहसमेत गरेका छन् ।

तर राजपाका नेता राजेन्द्र महतोले अहिलेकै अवस्थामा वार्तामा जानुको औचित्य नरहेको बताए । कुराकानी गर्दै महतोले भने,‘वार्ता के का लागि ? हाम्रो माग सरकारलाई थाहा नै छ । वार्ताको नाटक आन्दोलनलाई मत्थर पार्ने जालझेल हो । त्यसकारण हामी अहिलेकै अवस्थामा वार्तामा जाँदैनौं ।’

महतोले भने,‘उहाँहरुलाई निर्वाचनको मिति सार्नु छ भने आफ्नो तरिकाले सारोस् हाम्रो त्यो माग होइन । हाम्रो माग पुरा जति दिनमा पुरा हुन्छ त्यती दिन सारोस् तर हाम्रो माग पुरा होस् । हामीलाई निर्वाचनमा सहभागी हुने वातावरण बनाओस् ।’

चार दलको बैठक पछि एमाले अध्यक्ष केपी शर्मा ओली संविधान संशोधन प्रति लचक हुँदै आफु संविधान संशोधनको विरोधमा नरहेको प्रतिक्रिया दिएका थिए । संविधान संशोधनको औचित्य नरहेको बताउँदै आएका ओलीले मंगलबार साँझ दोस्रो चरणको निर्वाचन पछि संविधान संशोधन गर्न सकिने बताए । उनले राजपासँग लिखित सहमति भए निर्वाचनको मिति सार्ने र माग पुरा गर्ने बताए ।

Back to top