×

सर्लाही २८ जेष्ठ, सर्लाही आउँदा बाटोमा फुलमाला लिएर स्वागत गर्न उभिने जनता आज संघिय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउँदा ठाउँ–ठाउँमा कालो झण्डा तथा टायर बालेर बिरोध गरेका छन् । संबिधान संसोधनले मात्र नपुग्ने संबिधानै पनरलेखन गर्नुपर्छ भन्दै आन्दोलन उद्घोष गरेको र आन्दोलनको क्रममा मधेशीहरू शहिद भएको, मधेशीहरू घाईते भएको, आन्दोलनकारीहरू माथि सरकारद्वारा झुटा मुद्दा लगाईएको तर मधेश आन्दोलनको माग पुरा नहुँदै स्थानिय निकायको चुनावमा सहभागी भएको भन्दै जनताले उपेन्द्र यादवको विरोध गरेको हो ।

सर्लाहीको दक्षिण क्षेत्र विष्णु गाउँ पालिकाको मधुवन गोठमा चुनावी सभा गर्न यादव आउन लागेको जानकारी स्थानियवासीहरुलाई भएपछि जिल्लाको विभिन्न सडक तथा ठाउँहरुमा टायर बालेर बाटो अवरुद्ध पारेको थियो ।

जनता बाटो अवरुद्ध गरेपछि यादव निर्धारित समय भन्दा धेरै पछि प्रहरी स्कटीङमा कार्यक्रममा पुगेको थियो ।

मधुवन गोटको हरेक सडक अवरुद्ध गरिएको थियो । सडकमा गाडी तेर्साएर , काठ, दाउरा, टायर बालेर तथा विभिन्न समानहरु राखेर अवरोध गरिएको थियो । ठूलो संख्यामा परिचालन भएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीले अवरोध हटाउँदै यादवलाई स्कटिङ गरी सभा स्थलमा लगेको थियो ।

गोडैता नगरपालिकाको सिसौटियामा यादवको गाडी पुगेपछि स्थनियहरुले बाटोमा राखेको कालो झण्डा फोरम कार्यकर्ताले हटाउन खोजेपछि स्थानिय महिलाहरुले अध्यक्ष यादव लगायत फोरम कार्यकर्ता चडेको गाडीमा लगाएको झण्डाहरु खोसेको थियो । साथै बिरोध प्रर्दशन समेत गरेको थियो ।

प्रहरी स्कटिङमा सभा स्थल यादव पुगेपछि स्थानियहरुले सभामा कालो झण्डा लिएर प्रवेश गरेपछि दोहरो झडप भएको थियो । साथै ढुङ्गा हाना हान समेत भएको थियो । फोरम कार्यकर्ताहरुले कालो झण्डा खोस्न लागेपछि झडप भएको थियो । झडप भएलगतै प्रहरीले बिरोध प्रदर्शनकारीहरू माथि लाठी चार्ज गरेको थियो । प्रदर्शनकारीहरूले कार्यक्रममा लगाएको माईकको तार समेत काटिदिए पछि कार्यक्रम केही बेर अवरोध भएको थियो । त्यस्तै प्रदर्शनकारीहरूले समेत माईक लगाएर अध्यक्ष यादवको बिरोध गरेको थियो । ठूलो संख्यामा उपस्थित भएका सुरक्षाकर्मीको कारण कुनै ठूलो घटना हुन पाएन ।

कार्यक्रम सकेर मलंगवा तर्फ जादै गरेको यादवलाई कौडेनामा स्थानियहरु बिरोध गरेपछि प्रहरीले लाठी चार्ज गर्दा आक्रोसित स्थानियहरुले फोरम कार्यकर्ता चढेको गाडीहरुमा तोडफोड समेत गरेका छन् । गाडीको सिशाहरु आक्रोसितहरुले फुटाई दिएको छ । कौडेनामा प्रदर्शनकारीहरूले उपेन्द्र यादवको पुतला दहन गर्नुको साथै गाडीमा लगाएको फोरमको झण्डा खोसेर जलाएका पनि छन्। प्रहरीको लाठी चार्ज तथा झडपमा परेर करिब एक दर्जन व्यक्ति घाईते भएका छन् । उपेन्द्र यादवलाई कार्यक्रम स्थल र कार्यक्रम स्थलबाट मलंगवा सम्म लान हम्मे हम्मे परेको थियो।

Back to top