×

वीरगन्ज २६ जेठ कांग्रेसले पर्साको सुवर्णपुर, धोविनी र पटेर्वा सुगौली गाउँपालिकाको वडाहरूमा उम्मेदवारको टुंगो लगाएको छ । सुवर्णपुरका पाँच, धोबिनीका चार र पटेर्वा सुगौलीको एक गरी १० वडामा उम्मेदवारको टुंगो लगाएको क्षेत्र नम्बर ५ का कांग्रेसका क्षेत्रीय सचिव राकेश यादवले जानकारी दिए । कांग्रेसले सुवर्णपुर गाउँपालिका–१ को वडाअध्यक्षमा भक्तबहादुर आले, वडा नम्बर ३ को वडाध्यक्षमा केशव खड्का, वडा नम्बर ४ मा केशरबहादुर श्रेष्ठ, वडा नम्बर ६ मा शेषनुमान आजम र वडा नम्बर ७ मा मोहन चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सुवर्णपुर गाउँपालिका वडा नम्बर २ र ५ को अध्यक्षलगायतका उम्मेदवारको टुंंगो बिहीबार लगाउने क्षेत्रीय सचिव यादवले बताए । यस्तै, धोबिनी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा बन्धु साह तेली, वडा नम्बर २ मा राजकिशोरप्रसाद पटेल, वडा नम्बर ४ मा मजिद मियाँ अन्सारी र वडा नम्बर ५ मा कर्मुल्लाह अन्सारीलाई उम्मेदवार बनाएको छ । धोबिनी गाउँपालिका वडा नम्बर ३ मा भने वडा अध्यक्ष उम्मेदवारको टुंगो लागेको छैन ।

पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ मा विद्यानन्द महतोलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । वडा अध्यक्षसहित १० वडाका सबै सदस्य पदमा पनि उम्मेदवार घोषणा गरेको कांग्रेसले जनाएको छ । क्षेत्रीय सभापति रमेशनाथ पाण्डेको अध्यक्षतामा बसेको बैठकमा कांग्रेसका कन्द्रीय सदस्य रमेश रिजाल, महासमिति सदस्यहरू बृहस्पतिकृष्ण श्रेष्ठ, वशिष्टनारायण कुर्मीलगायतको सहभागिता रहेको थियो ।

उम्मेदवार छान्न सकस

आकांक्षी धेरै भएपछि दलहरूलाई उम्मेदवार छान्न सकस परेको छ । पर्सामा कुनै पनि दलले पूर्ण रूपमा उम्मेदवारको टुंगो लगाइसकेका छैनन् । चर्चामा धेरै उम्मेदवारको नाम आए पनि कुनै पनि पार्टीले हालसम्म औपचारिक रूपमा उम्मेदवार अघि सारेका छैनन् । १३ वटै स्थानीय तहको उम्मेदवारको नाम सार्वजनिक हुन नसक्दा चुनावी माहोल पनि बनेको छैन । जिल्लामा ५ सय ५१ जना जनप्रतिनिधि निर्वाचनबाट चुनिन्छन् ।

केही दिन लाग्छ : कांग्रेस

कांग्रेस जिल्ला कमिटीले पर्सामा उम्मेदवारको टुंगो लगाउन अझै तीन–चार दिन लाग्ने जनाएको छ । जिल्ला सभापति अजयकुमार द्विवेदीले उम्मेदवारको आकांक्षी धेरै भएकाले टुंगो लगाउन गाह्रो भएको बताए । ‘आकांक्षी धेरै छन्, एउटै पदमा चार–पाँचजनाले दाबी गरेका छन् । तालमेल हुने सम्भावना न्यून छ, वडा स्तरको उम्मेदवार टुंग्याउनमा अहिले व्यस्त छौँ । सकेसम्म सहमतिमै उम्मेदवार छनोट गरौँ भनेर लागिपरेका छौँ,’ उनले भने, ‘उम्मेदवार टुंग्याउन अझै तीन–चार दिन लाग्छ होला ।’

हामी हतार गर्दैनौं : एमाले

एमाले पर्साका संयोजक प्रभु हजाराले उम्मेदवारको टुंगो लगाउन पार्टीले हतार नगरेको बताए । ‘मनोनयन २ असारमा छ, अहिले नै उम्मेदवार सार्वजनिक गरेर के गर्ने ?’ उनले भने, ‘सबै उम्मेदवारको टुंगो लगाएपछि मात्रै नाम सार्वजनिक गर्ने तयारीमा एमाले छ ।’ यद्यपि, उम्मेदवार छनोटमा सबैभन्दा अगाडि एमाले नै छ । एमालेले ११ वटा गाउँपालिकामध्ये आठवटामा उम्मेदवारको टुंगो लगाइसकेको छ । उपमहानगर र नगरपालिकामा भने आकांक्षी धेरै भएकाले टुंगो लाग्न बाँकी छ ।

छनोट चरणमा छौँ : माओवादी केन्द्र

माओवादी केन्द्रका जिल्ला संयोजक विजय महतोले उम्मेदवार छनोट चरणमा पार्टी रहेको जानकारी गराए । ‘कतै सर्वसम्मत उम्मेदवार आएको छ, कतै विवाद छ,’ संयोजक महतोले भने, ‘स्थानीयस्तरमा भएको विवादलाई जिल्लाले टुंगो लगाउने र जिल्लाले पनि नसकेको अवस्थामा प्रदेशले टुंगो लगाउने गरी रणनीति बनाएका छौँ । दुई–चार दिनमा टुंगोमा पुग्छौँ ।’

मधेसी दल पनि तयारीमा

राजपा नेपालले चुनावमा जाने औपचारिक निर्णय नगरे पनि आन्तरिक तयारीलाई भने जारी राखेका छन् । आन्दोलन परिचालन समिति गठन, पार्टी प्रवेश तथा गाउँ भेलालगायतका कार्यक्रममार्फत उनीहरूले विचारहरू जनतासमक्ष राखिरहेका छन् । पहिलो चरणको निर्वाचनमा सहभागी भएकोमा फोरम नेपालले अनौपचारिक रूपमा उम्मेदवारको टुंगो लगाइसकेको छ । वीरगन्ज महानगरपालिकाबाट फोरम नेपालले मेयरमा उद्योगी विजय सरावगीलाई उठाउने निश्चितजस्तै गरेको छ ।

राजपा नेपालका नेता शिव पटेलले माग सम्बोधन भएपछि मात्रै चुनावमा जाने बताए । ‘हामी त अहिले आन्दोेलनमै छौँ तर स्थानीय चुनाव भएकाले आंशिक तयारी पनि गरिराखेका छौँ,’ उनले भने, ‘माथिबाट पार्टी नेतृत्वले जे भन्छ हामीले त्यही गर्ने हो । पार्टीले आन्दोलनमा जा भन्यो भने आन्दोलनमा जान्छौँ, चुनावमा जा भन्छ भने चुनावमा, दुवैका लागि तयार छौँ ।’

नेपाल संघीय समाजवादी पार्टीले दोस्रो चरणको स्थानीय निर्वाचनका लागि पोखरिया नगरपालिकाको नगर प्रमुख तथा उपप्रमुखमा उम्मेदवार तोकिसकेको छ । पार्टीले नगर प्रमुखमा दीपनारायणप्रसाद रौनियार (मन्टु) र उपमेयरमा विन्दादेवी बैठालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Back to top