×

वीरगन्ज २५, जेष्ठ स्थानीय तहको दोस्रो चरणको चुनावका लागि मधेशका जिल्लाहरुमा व्यापक तयारी सुरु गरिएको छ । राजनीतिक दलहरुको घरदैलो, प्रचार प्रसार र राजनीतिक सभा सम्मेलनले गति लिएको छ ।

सुरक्षा निकाय, निर्वाचन कार्यालय लगायत अन्य सरोकारवाला चुनावी तयारीमा जुटेका छन् । पर्सा जिल्लामा मात्रै १३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय सञ्चालन गरिएको छ । निर्वाचन आयोगले निर्धारण गरेको पछिल्लो कार्यतालिका ती कार्यालयहरूले सार्वजनिक गरिसकेका छन् । त्यहाँ आवश्यक निर्वाचन सामग्री पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राजनीतिक दल घरदैलोमा व्यस्त

उम्मेदबार छनौट गरेका वा नगरेका राजनीतिक दलहरू उम्मेदवार बिनै भएपनि घरदैलो कार्यक्रम थालेका छन् । भोट माग्न उनीहरू स्थानीय बासिन्दाका घरघर पुगेर छलफलमा व्यस्त छन् । चुनावी भेला, सभा, ¥याली लगायत कार्यक्रम भइरहेका छन् ।

उम्मेदवारका आकांक्षीहरू बिहान चिया र बेलुका मदिरा पसलमा नेताहरूसित देखिन थालेका छन् । हुनेखाने उम्मेदवारका आकांक्षीहरूले नेताहरू फकाउन भोजमा सामेल गराउन थालेका छन् ।

ठूला दलहरूले केही ठाउँका लागि उम्मेदवार चयन गरे पनि सार्वजनिक गरेका छैनन् । कांग्रेस, एमाले र माओवादीमा किचलो बढेसँगै उम्मेदवारको टुंगो लाग्न नसकेको सम्बद्ध नेताहरू बताउँछन् ।

संघीय समाजवादी फोरम नेपालले गत सातादेखि सम्भाावित उम्मेदवार खोजीमा जुटेको छ । चुनावमा होमिएको फोरम नेपालले स्वच्छ, लोकप्रिय र इमान्दार उम्मेदबारलाई मात्रै स्थान दिने यसअघि नै जनाईसकेको छ । राष्ट्रिय जनता पार्टी चुनाव केन्द्रित बन्दै नेता कार्यकर्ता संगठित बनाउन व्यस्त देखिन्छ ।

जिल्ला सुरक्षा समितिले चुनाव स्वच्छ, निष्पक्ष र भयरहित बनाउन मतदान केन्द्र, मतदाता, उम्मेदवार र मतदान अधिकृतलगायतको सुरक्षाका लागि सहरदेखि गाउँसम्म सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र, नेपाल र म्यादी प्रहरीबाहेक बाहिरबाट थप टोली मगाएर परिचालन गरिएको छ । सेनाको टोली पनि गाउँगाउँ पुगिसकेको छ ।

Back to top