×

वीरगन्ज २३ जेठ जेठको दोश्रो सातादेखि गर्मी अत्याधिक बढेका कारण पर्सासहित मध्यतराईको जनजीवन प्रभावित भएको छ। जेठको दोश्रो साता यता एक दिन मात्र पानी परेपनि तापक्रम भने अत्याधिक वृद्धि भइ चर्को गर्मी र प्रचण्ड घामका कारण सर्वसाधरणको दैनिकी नै अस्त व्यस्त बनेको छ।

बाराको सीमरा विमानस्थलमा रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार जेठ ११ गते देखि पर्सा बारा र आसपासको क्षेत्रमा ४० डिग्री सेल्सियसको हाराहारीमा तापक्रम रहदै आएको छ।

गत बुधबार ३६ , बिहीबार ३८, शुक्रबार ३६ , शनिबार ३७ र आइतवारको अधिकतम तापक्रम ३७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसम विज्ञान विभाग फिल्ड कार्यालयका प्रमुख केशवराज खरेलले जानकारी दिनुभयो।

जेठ ११ गते अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको थियो। एक साता यता बिहानदेखि नै चर्को घाम लाग्दै आएका कारण सडक तथा बजारमा मानिसहरुको चहल पहल पनि निक्कै कम हुने गरेको छ।

चर्को गर्मी र प्रचण्ड घामका कारण ज्यलादारीमा काम गर्ने मजदुरलाइ सास्ती भएको छ। ग्रामीण क्षेत्रमा खेतमा काम गर्ने कृषि मजदुर तथा शहर बजारमा रिक्सा र ठेला चलाउने मजदुरहरुको जनजीवन पनि गर्मीका कारण कष्टकर बनेको छ।

टाउँको नै फुट्ने खालको उर्खाउलो गर्मी छ, बसपार्क क्षेत्रमा दिउँसो आराम गरिरहेको अवस्थामा भेटिएका रिक्सा चालक सर्लाहीको बलराका भुवन मलाहले भन्नुभयो, ‘दिउँसो यति धेरै चर्को घाम लाग्छ कि रोडमा निस्कने हिम्मत नै गर्दिन, त्यसैले बिहान र बेलुकी मात्रै रिक्सा चलाउछ, दिउँसो भने आराम गरेर बस्छु।’

गर्मी अत्याधिक भएपछि विद्यार्थीलाई पनि सास्ती भएको छ। वीरगन्जका अधिकांश सामुदायिक र निजी विद्यालयका कक्षाकोठामा विद्युतीय पंखा नभएका कारण दिउँसोको समयमा विधार्थीलाई सास्ती हुने गरेको हो।

गर्मी अत्याधिक बढेका कारण वीरगन्जका अस्पताल र निजी स्वास्थ्य क्लिनीकहरुमा बिरामीको चाप पनि बढेको छ। वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पछिल्ला दिनमा बिरामीको चाप बढेको अस्पतालका निमित्त मेसु डाक्टर चित्तरन्जन साहले बताउनु भयो। गर्मी बढेदेखि अस्पतालमा भाइरल ज्वरो र झाडा पखालाका बिरामीहरुको संख्या बढेको साहले जानकारी दिनु भयो।

गर्मीको समयमा पातलो कपडा लगाउन र पानी तथा झोलयुक्त खाना बढी सेवन गर्न चिकित्सकहरुले सुझाव दिएका छन्। गर्मीबाट बच्नको लागि बिहान बेलुका मात्र घर बाहिर निस्किने, सकेसम्म दिउँसो चर्को घाम लागेका बेला घरबाट बाहिर निस्किने ,निस्कनै परे पूरा शरिर ढाक्ने गरी कपडा लगाउने र छाताको प्रयोग गर्ने, चिसो र रसिलो तरल पदार्थहरु बढी सेवन गर्नु पर्ने डाक्टरहरुको सुझाव छ।

Back to top