वीरगन्जमा वातावरण दिवसको अवसरमा वृक्षारोपण र चित्रकला प्रतियोगिता

525

वीरगञ्ज २१ जेठ विश्व वातावरण दिवसको अवसरमा आज वीरगञ्जमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । वीरगञ्ज महानगरपालिका कार्यालय र प्रकृति सेवा प्रतिष्ठानले दिवसको अवसरमा कार्यक्र गरेका हुन् ।
वीरगञ्ज उपमहानगरपालिका कार्यालयले वीरगञ्जको मुख्य सडकमा वृक्षारोपण गरेको कार्यालयका योजना अधिकृत एवं सुचना अधिकारी प्रकाशमान अमात्यले जानकारी दिनुभयो । भारतीय महावाणिज्य दुतावासदेखि उत्तर तर्फ मुख्य सडकको बीच भागमा रहेको डिभाईडरमा ८७ वटा रुख रोपिएको उहाँले बताउनुभयो । वृक्षारोपण कार्यक्रमको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले रुख रोपेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा वीरगञ्ज महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत पिताम्बर अधिकारी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गोविन्द कुमार साह, नेकपा एमाले पर्साका संयोजक प्रभु हजरा, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम वञ्जारा लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरि वातावरण दिवसको अवसरमा स्कुले बालबालिकाहरुले रुख नकाट्न आग्रह गर्दै रुखलाई अंगालो मारेका छन् । प्रकृति सेवा प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा घण्टाघर देखि उत्तरमा मुख्य सडकको बीच भागमा रहेको डिभाईडरको रुखलाई अंगाले मारेर विद्यार्थी भाईबहिनीहरुले रुख नकाट्न आग्रह गरेका थिए । रुख मास्ने क्रम बढ्दै गएकोले रुखलाई जोगाउनुपर्छ काट्नु हुँदैन भन्ने सन्देश दिन रुखलाई अंगालो मारिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहले बताउनुभयो । कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारु, पत्रकार विजय चौहान लगायतको उपस्थिति रहेको थियो । यसै गरि
वीरगञ्जमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रकृति सँग हाम्रो नाता रहिरहोस अनन्त भन्ने नाराका साथ प्रकृति सेवा प्रतिष्ठान नेपाल र ग्रेड एकेडेमीको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा सहभागी विद्यार्थीहरुले पर्यावरण सम्बन्धी चित्र कोरेका थिए ।
दुई समूहमा गरिएको प्रतियोगितामा पर्सा जिल्लाका १५ वटा सामुदायिक र ३५ वटा नीजि तथा आवासिय विद्यालयका २ सय विद्यार्थीहरु सहभागी भएको प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहले जानकारी दिए । प्रतियोगितामा दुवै समूह तर्फ साउथ जोनले बाजी मारेको छ । कक्षा पाँच र छ का विद्यार्थीहरुको समूह ग्रुप ए र ७ देखि १० सम्मका विद्यार्थीको समूह ग्रुप बि दुवैमा साउथ जोन एकेडेमीकै विद्यार्थीहरु प्रथम र द्वितिय भएका हुन् । ग्रुप ए तर्फ साउथ जोन एकेडेमीका सोनालाल सहनी, साउथ जोनकै अनु पटेल द्वितिय र ग्रेड एकेडेमीका अस्मिता वर्णवाल तृतिय हुन सफल भएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।
त्यसैगरि ग्रुप वी तर्फ पनि साउथ जोन एकेडेमीकै रिंकु साह प्रथम, साउथ जोनकै सञ्जना चौहान द्वितिय र डिएभी स्कुलकी रसना सिंह तृतिय हुन सफल भएकी छन् । विजेता विद्यार्थीहरुलाई शनिबार नै पुरस्कार पनि प्रदान गरिएको आयोजक कमिटिकी सम्झना सिंह खड्काले बताईन् । विजेता विद्यार्थीहरुलाई पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, वीरगञ्ज महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत पिताम्बर अधिकारी, शिक्षा कार्यालयका हरि राउत लगायतले पुरस्कार प्रदान गरेका थिए ।