×

वीरगज, जेठ दोस्रो चरणको चुनावका लागि पर्सा सहितका जिल्लाहरूमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

दोस्रो चरणको चुनाव हुने चार सय ६१ तहमध्ये चार सय २० तहमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र बाँकी तह जिल्ला सदरमुकाममा रहेकाले ४१ ठाउँमा मुख्य निर्वाचन अधिकृतले नै निर्वाचन अधिकृतको पनि भूमिका निर्वाह गर्ने निर्वाचन आयोगले जनाएको छ ।

पर्साका दुई नगरपालिका र ११ गाउँपालिकामा पनि आजदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय, पर्साले जनाएको छ ।

आजदेखि स्थापना गरिएका जिल्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत र कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।

निर्वाचन आयोगले दोस्रो चरणको चुनावका लागि आउँदो २८, २९ र ३० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने तयारी गरेको छ ।

यस्तै मतदाता शिक्षा प्रभावकारी बनाउन २७, २८ र २९ गते मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने निर्वाचन आयोगले जनाएको छ ।

मतदाता परिचयपत्र लिन पुग्ने सबैलाई मतदान गर्ने तरिकाबारे सिकाइने तयारी गरिएको निर्वाचान कार्यलय पर्साले जनाएको छ ।

मतदातालाई जानकारी गराउन मतदान केन्द्रमा सक्कली मतपत्र समेत अवलोकनका लागि राखी व्यवस्था मिलाएको सो कार्यालयले जनाएको छ ।

पहिलो चरणको मतदानमा निर्वाचन आयोगले सोचेभन्दा बढी मत बदर भएकोले सक्लली मतपत्र नै देखाई मतदाताहरूलाई शिक्षित बनाउने उद्देश्यले यस्तो व्यवस्था गरेको सो कार्यलयले जनाएको छ ।

Back to top