विराटनगर र वीरगञ्ज पुनः महानगरपालिका घोषित, अव देशभर ६ महानगरपालिका

39




वीरगञ्ज जेठ एक पटक महानगरपालिका घोषणा भइसकेर पनि सर्वोच्च अदालतको आदेशका कारण रोकिएको विराटनगर र वीरगञ्जलाई सरकारले पुनः महानगरपालिका बनाउने निर्णय गरेपछि स्थानीयवासी उत्साहित भएका छन् ।

सरकारले बुधबार विराटनगर र वीरगञ्ज उपमहानगरपालिकाको स्तरोन्नति गरेको घोषणा गरेको हो । असार ८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट स्थानीय तहको सङ्ख्या थप्ने र महानगरपालिका बनाउने घोषणा गरे लगत्तै सर्वोच्चमा रिट परेपछि दुवै महानगरपालिका पुनः उपमहानगरपालिकामा झरेको थियो । सरकारले महानगरपालिका घोषित गरेको खुशीयालीमा स्थानीयवासीले दीपावलीसमेत गरेका थिए ।

सरकारले ७ सय ४४ स्थानीय तह बनाउँदा ४ महानगरपालिका बनाएको थियो । बुधवार थप दुई महानगरपालिका घोषित भएपछि अव देशभर ६ महानगर भएका छन् । काठमाडौं महानगरपालिका पछि सरकारले ललितपुर, भरतपुर र पोखरा–लेखनाथलाई महानगरपालिका बनाएको थियो ।

महानगरपालिकालाई आवश्यक पर्ने क्षेत्रफल, जनसङ्ख्या र अन्य पूर्वाधारयुक्त विषय संवैधानिक तथा कानूनी व्यवस्था तथा स्थानीय तहको आवश्यकताअनुसार भविष्यमा पनि थप क्षेत्र विस्तार गर्दै लैजान सकिने सम्भावनालाई ध्यान दिई बुधबारको मन्त्रिपरिषद्ले सो निर्णय गरेको बताइएको छ ।

Comments

comments