माओवादीलाई ‘बाँदर’ भन्ने चितवनका एसपीलाई कारबाहीको तयारी !

32

वीरगन्ज जेठ भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाको भूमिका आफ्नो पक्षमा भएको भन्दै सत्तारुढ माओवादी केन्द्रका नेताहरु उनीसँग आक्रोशित भएका छन् ।

मतपत्र च्यातेको आरोपमा थापा आफैंले माओवादी केन्द्रका दुई कार्यकर्ताहरु मधु न्यौपाने र द्रोणबाबु सिवोकोटीलाई पक्राउ गरेका थिए । उनीहरु दुवै हिरासतमा छन् । घटनाबारे निर्वाचन आयोगले सह–महान्यायाधीवक्ता गीताप्रसाद तिमल्सिना नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको भन्दै माओवादीले समितिको छानबिन प्रभावित हुने गरी सार्वजनिक अभिव्यक्ति दिएकामा थापाप्रति आपत्ति जनाएको हो । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापाले एसपी थापाको रबैया सर्वथा गलत र एकपक्षीय रहेको बताए ।

उनले एसपी थापामाथि कारबाहीको मागसमेत गरे । ‘भरतपुर घटनाबारे छानबिन समितिले काम गरिरहेका बेला प्रहरीका एसपीबाट आएको अभिव्यक्ति दुर्भाग्यपूर्ण छ’, थापाले भने, ‘प्रहरीको बर्दी लगाएपछि बर्दीको सम्मान गर्नुपर्छ, उनको तरिका गलत छ ।’ नेता थापाले एसपी थापाको अभिव्यक्ति एमाले अध्यक्ष केपी ओलीसँग ठ्याक्कै मिल्ने भन्दै बढी एमाले फ्लेबर नदेखाउन चेतावनी दिए । ‘

भाषा, शैली र तरिका केपी ओलीकै छ’, नेता थापाले भने, ‘त्यतिधेरै पार्टीको माया छ भने बर्दी फालेर राजनीतिमा आउनु, वडा सदस्यमा चुनाव लड्नु, होइन भने पार्टीको पुलिस भएर काम गर्नुभएन ।’ एसपी थापाले भरतपुर प्रकरणपछि सञ्चार माध्यममा प्रतिक्रिया दिएका थिए । ‘दुई जना व्यक्ति बाँदर झैं बुरुक्क उफ्रिएर मतपत्र च्याते । ती माओवादी केन्द्रका कार्यकर्ता थिए’, एसपी थापाले भनेका थिए । नेता थापाले प्रहरीको काम गैरकानुनी काम गर्नेलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया बढाउने र समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गर्ने भएको भन्दै को बाँदर, को स्याल र को बाघ भन्दै भाषण गर्ने नभएको उल्लेख गरे ।

थापालाई चितवनबाट तत्काल प्रहरी प्रधान कार्यालयमा तानेर राजनीतिक भाषण दिएकामा विभागीय कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कुरा राख्ने उनले बताए ।

Comments

comments