तालमेलका दुई रामले किन हारे ?

28




मकवानपुर । मकवानपुरमा स्थानीय निर्वाचनको सबै परिणामा आइसकेको छ । विजयी उम्मेदवारले शपथ ग्रहण र कार्यभार पनि सम्हालिसकेका छन् । विजयी उम्मेदवार सबैको चासोमा हुनु स्वाभाविक नै हो । तर, हार व्यहोरेका कांग्रेस–माओवादी केन्द्र गठबन्धनका उम्मेदवारको चर्चा पनि कम छैन । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवारले जिते । कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारले हारेपछि सबैमा चासो बढेको हो ।

यस्तो थियो उम्मेदवार चयनको माहोल
मकवानपुरका प्रायः नगर र गाउँपालिकामा उम्मेदवारको टुंगो लागिसक्दा पनि वैशाख दोस्रो सातासम्म हेटौंडा उपमहानगरपालिकाको प्रमुख–उपप्रमुखको टुंगो लगाउन जिल्ला तहका नेतालाई सकस भएको थियो । माओवादी केन्द्रसँगै साना दलले उम्मेदवार टुंग्याउँदा पनि कांग्रेस र एमालेमा भने अन्योल कायमै थियो । अन्ततः केन्द्रको निर्देशानुसार दुवै दलले मनोनयन दर्ताको दिन उम्मेदवारको टुंगो लगाए । कांग्रेसबाट उपमहानगरको प्रमुखमा आनन्दराम पराजुली र उपप्रमुखमा लक्ष्मी श्रेष्ठ उठे । उता एमालेले पनि अन्तिम समयमा प्रमुखमा हरिबहादुर महत र उपप्रमुखमा मीना लामालाई अघि सार्‍यो । माओवादी केन्द्रले वैशाखको पहिलो साता नै बलराम बल प्रमुख र कमला पौडेललाई उपप्रमुखको रूपमा अघि बढाइसकेको थियो । राप्रपाले भने मधु अधिकारीलाई नगरप्रमुखका रूपमा अघि सारेको थियो ।

बदर मतले बर्बाद बनायो
उम्मेदवारी चयनका वेलादेखि नै हेटौँडावासी उत्साहित थिए । नेता कार्यकर्ता प्रचारप्रसारमा व्यस्त थिए । तर, निर्वाचनको मिति नजिँकिदै गर्दा केन्द्रीय स्तरमा कांग्रेस–माओवादी केन्द्रबीच तालमेल हुने निर्णय भयो । मौन अवधि सुरु हुनुभन्दा ठीक एक साताअघि दुई दलबीच तालमेल भयो । कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख लिँदै अघि बढ्ने सहमति भयो । कांग्रेस र माओवादी केन्द्रबीचको तालमेलले एमालेलाई थप बलियो बनाएको जिल्ला नेता बताउँछन् । एमालेका एक नेताले भने, ‘हामीलाई कांग्रेस–माओवादी केन्द्रबीचको तालमेलले थप मजबुत बनायो, उनीहरूको तालमेलपछि मतदाता शिक्षा कमजोर हुन्छ, धेरै मत बदर हुँदा हाम्रो जित सुनिश्चित भयो ।’

तालमेलपछि प्रमुखमा रुख र उपप्रमुखमा गोलाकारभित्रको हँसिया–हथौडामा मत दिने सामान्य मतदाता शिक्षालाई प्राथमिकतामा नराख्दा प्रमुख र उपप्रमुखमा करिब १९ हजार मत बदर भयो । धेरै मत बदरको एक मात्र कारण थियो, प्रमुखमा गोलकारभित्रको हँसिया हथौडा र उपप्रमुखमा रुख चिह्नमा मत दिँदा स्वतः बदर हुन पुग्यो । तालमेलअघि ९० प्रतिशत प्रचारप्रसार सकेको माओवादी केन्द्रले सुरुको प्रचारलाई चिर्न सकेन भने कांग्रेसले पकड क्षेत्रका ५० प्रतिशत मतदातालाई पक्षमा पार्न सकेन ।

मोर्चाबन्दीले रोक्न सकेन हरिबहादुरलाई
उम्मेदवारी मनोनयनकै दिन एमालेबाट टिकट पाएका हरिबहादुर निर्वाचन जित्नेमा ढुक्क थिए । यसअघि नै लगातार दुईपटक उपप्रमुख निर्वाचित भइसकेका हरिबहादुरलाई पार्टीको बिरासत जोगाउन त्यति असहज नभएको उनी बताउँछन् ।

तर, मौन अवधि भन्दा एक साताअघि जब कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भयो, त्यसपछि केही हच्किएको उनले बताए । एमालेको बिरासत जोगाउने जिम्मासहित उपमहानगरको पहिलो मेयर बन्ने सौभाग्य पाएका उनले बाह्य प्रचारभन्दा आन्तरिक तयारीमा विशेष ध्यान दिएको बताए । उनले भने, ‘मत बदर कम गराउन पार्टीभित्र सबै क्षेत्रलाई समान रूपमा परिचालन गरेँ । आफ्नो पकड वडा र त्यस क्षेत्रका मतदातालाई एमालेको निगरानीमा राख्ने रणनीति अवलम्बन गरेँ र त्यसैबमोजिम आफ्नो व्यक्तिगत मतदाताको घरघरमा पुगेँ । यसरी थोरै समयको तयारीले नगरप्रमुख बन्ने अवसर प्रदान गर्‍यो ।’

एमालेले रणनीतिलाई अघि बढाइरहँदा कांग्रेस–माओवादी केन्द्रले पनि कम तयारी गरेका थिएनन् । तर, तयारीलाई तीव्रता दिएसँगै सांगठनिक स्वरूप कमजोर हुँदा कांग्रेस–माओवादीको मतदाता बढ्न सकेनन् । एमालेको लालकिल्ला बुझिने हेटौंडासँगै समग्र जिल्लाभर कांग्रेस–माओवादीले ठूलै झड्का दिए । मत गणनाको समयमा दर्जनौँपटक कांग्रेसले अग्रता लिइरह्यो भने कैयौँपटक दुबैबीच टक्कर चलिरह्यो । ९ नम्बर वडा गणनाको क्रममा पछि परेको कांग्रेसको अग्रतालाई थोरै–थोरै मतले अन्तर गराउँदै अन्तत हरिबहादुले ६ सय १५ मतले पछि पार्दै बाजी मारे ।

हार्दा हराएनन् आनन्दराम
कांग्रेसको हेटौंडा उपमहानगर सभापतिसमेत रहेका आनन्दराम पराजुली पार्टीको जिल्ला सचिव भइसकेपछि नगर सभापतिमा ओर्लिए । स्थानीय तह निर्वाचन हुने भएदेखि नै कांग्रेसका तर्फबाट हेटौंडा उपमहानगरको प्रमुखमा उम्मेदवारी दिने उनको सोच थियो ।

लामो समयको संघर्ष र पार्टीभित्रको अन्तरविरोधलाई चिर्दै उनले अन्तिम समयमा प्रमुखको टिकट हात पारे । युवा र व्यवसायीमाझ परिचित आनन्दराम चुनाव जित्नेमा विश्वस्त थिए । तर, धेरै मत बदर हुँदा थोरै मतान्तरले हार व्यहोरे । हेटौंडामा कांग्रेस–माओवादी दुवै कमजोर हुँदा पनि एमालेले कांग्रेस–माओवादी केन्द्रको गठबन्धनलाई ६ सय १५ मतले मात्र पछि पार्दै जित हात पारेको हो । उपमहानगर प्रमुखमा एमालेका उम्मेदवार महतले २३ हजार १ सय २४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार आनन्दरामले २२ हजार ५ सय ९ मत ल्याए । निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै विजयी भएका हरिबहादुरलाई बधाई दिने पहिलो व्यक्ति आनन्दराम नै थिए । मत गणनास्थलमा अन्तिम नतिजा कुरिरहेका उनले हरिबहादुरलाई अँगालो मार्दै बधाइ र सफल कार्यकालको शुभकामना दिए ।

मतान्तरले आत्तिएनन् बलराम
माओवादी केन्द्रको तर्फबाट सुरुवातमा प्रमुखका उम्मेदवार बलराम बलले कांग्रेस–माओवादीको तालमेलपछि उपप्रमुखमा चित्त बुझाए ।
तालमेलमा उपप्रमुखको उम्मेदवार हुँदा उनले ९० प्रतिशत प्रचार सकिसकेका थिए । सकिएको प्रचारलाई तालमेलपछि आफू उपप्रमुखको उम्मेदवार भएको प्रचार कमै हुँदा करिब १० हजार मत बदर भयो । तर, उनी आत्तिएनन्, बलका प्रतिद्वन्द्वी मीनाले सुरुवातमा १ हजार मतअन्तर पार्दासम्म उनी आत्तिएका थिएनन् । मत गणनाको क्रममा उनले भनेका थिए, ‘मलाई मीनाले १ हजार ५ सय मतले पछि पार्दा पनि म आत्तिएको छैन ।’

Comments

comments