अबको सरकार सहमतीय कि बहुमतीय ?

12

गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पदबाट राजीनामा दिएपछि सो राजीनामा स्वीकृत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि आह्वान गरिन् । राष्ट्रपति भण्डारीले दिएको समयसीमा सकिन दुई दिन बाँकी रहँदा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सहमतीय सरकार गठन प्रक्रिया सुरु गर्न छलफलका लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई पत्राचार गर्यो । मंगलबार बिहान संसद् भवन नयाँ बानेश्वरमा आयोजित सो छलफलमा नेकपा एमालेबाहेक अधिकांश दलहरूले भाग लिए । प्रचण्डले राजीनामा दिएलगत्तै नेकपा एमालेका अध्यक्ष तथा अन्य केही शीर्ष नेताहरू शेरबहादुर देउवालाई सकेसम्म अबको प्रधानमन्त्री बन्न नदिने अभियानमा रहनुले आजको छलफलमा उसको सहभागिता नहुने निश्चितजस्तै थियो । ६ वटा पार्टी मिलेर भर्खरैजसो गठन भएको राजपाले पनि संविधान संशोधन, दलदर्ताको प्रक्रिया र चुनाव चिह्न पाउने ग्यारेन्टी नभएसम्म सरकार गठनको प्रक्रियामा सामेल नहुने बताएको छ । सर्वदलीय बैठकमा सहभागी सबै दललाई कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका लागि सहयोग गर्न आग्रह गरे । बैठकमा सहभागी अधिकांश दलका नेताले सहमतीय सरकार गठनबारे आ–आफ्ना पार्टीको धारणा राख्दै सहमतीय सरकारका लागि आफ्नो दलले सहयोग गर्ने बताए । बैठकमा उपस्थित नेकपा माओवादी केन्द्र, विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका अधिकांश दलका नेताले सहमतीय सरकार गठनका लागि राजपालाई जसरी पनि मनाउनुपर्ने र एमालेलाई पनि सहभागी गराउन पहल गर्नुपर्ने बताए । तर, राप्रपाका अध्यक्ष कमल थापाले भने आफूहरू बहुमतीय सरकारको पक्षमा रहेको भन्दै संसद्मा विपक्षी दल आवश्यक हुने बताए । त्यसैले प्रमुख तीन दल मिलेर सरकार बनाउनुपर्ने र आफूहरू प्रतिपक्षमा बस्ने बताए । त्यस्तै, राजपाका नेता लक्ष्मणलाल कर्णले दुई–दुईवटा सरकार बनिसक्दा पनि आफ्ना तीनबुँदे माग पूरा हुन नसकेका कारण अहिले नै समर्थन गर्न नसक्ने र चुनावमा पनि नजाने तर माग पूरा भएपछि भने सोच्न सकिने बताए । संघीय समाजवादी फोरम नेपालका नेता डा. शिवजी यादवले जसको नेतृत्वमा सहमतीय सरकार बने पनि आफूहरू बाधक नबन्ने र सरकारमा जाने विषयमा पनि सोचिनसकेको बताए । यसैबीच, बैठकमा अनुपस्थित रहेको प्रमुख प्रतिपक्षी दल एमालेले भने कांग्रेसले ‘शेरबहादुर देउवाको नेतृत्वमा सहमतीय सरकार गठनबारे छलफल गर्न’ भनेर बोलाएकाले आफ्नो पार्टी सो बैठकमा नगएको बताएको छ । बैठकका सहभागीले सहमतीय सरकार गठन हुन नसकेमा बहुमतीय प्रक्रियाबाट भए पनि निकास दिनुपर्ने धारणा राखेका थिए । सबैको कुरा सुनेपछि आफ्नो धारणा राखदै देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल गरेपछि फेरि बैठक बोलाउने बताए । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग भएको भद्र सहमतिअनुसार कांग्रेस सभापति देउवालाई सरकार हस्तान्तरण गर्न आफूले राजीनामा गरेको बताएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको एक हप्ताको समय बुधबार सकिँदै छ । बुधबारकै दिन फेरि सर्वदलीय बैठक बसेर सरकारको टुंगो लगाउने दलहरूले बताएका छन् । आजको बैठकमा सहभागी नभएको एमाले भोलिको बैठकमा पनि सहभागी हुने सम्भावना न्यून नै छ । छलफलमा नै सहभागी नहुने अडानमा रहेको एमाले कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने सम्भावना पनि कमै छ । एमाले कांग्रेसलाई प्रधानमन्त्री बन्न नदिने बरु सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने अथवा माओवादीलाई नेतृत्व गर्न मनाउने, त्यो पनि नभएर कांग्रेसलाई नै दिनैपरे पनि रामचन्द्र पौडेललाई त्यसका लागि उक्साउने रणनीतिमा छ । तर, एमालेको यस्तो ‘फुटाऊ र राज गर’को रणनीति असफलप्रायः भइसकेको छ । कांग्रेस, माओवादी र विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक बहुमतीय सरकार गठनका लागि सहमत भइसकेका छन् । राप्रपाभित्रै पनि सरकारमा जाने र फर्किने दोधारे प्रवृत्तिका कारण पहिलो चरणको निर्वाचनमा ठूलो हार भएको भनेर नेतृत्वमाथि आरोप लागेको छ । राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणा चुनावी सरकारमा राप्रपा सहभागी हुनुपर्ने अडानमा छन् । त्यसैले आगामी सरकारमा राप्रपा सहभागी हुने सम्भावना छ । राजपा पनि आफ्ना माग सम्बोधन भएको खण्डमा सरकारमा सहभागी बन्नेमा लचिलो छ । संसद्मा प्रतिनिधित्व गर्ने अन्य केही साना दलले पनि सरकारमा सहभागी हुने संकेत गरेका छन् । यसकारण पनि अबको सरकार बहुमतीय नै बन्ने र त्यसको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने लगभग निश्चित छ । बरु संविधान संशोधनलगायतका मुद्दाहरूलाई सहज बनाउनका लागि संसद्मा दुईतिहाइ मत आवश्यक हुने भएकाले कांग्रेस–माओवादी त्यो प्रयासमा अघि बढेको देखिन्छ ।

Comments

comments