वीरगंज उपमहानगरपालिका प्लास्टिक झोलामुक्त क्षेत्र कहिले हुने ? सुदर्शनराज पाण्डे

30

वीरगंज उपमहानगरपालिकाको २५ वटा वडामा प्लास्टिक झोलाको अति उपयोग र जथाभावी फ्याँक्ने गर्दा अत्यधिक प्रदूषित बनेको छ । वीरगंज नगर क्षेत्र कालो प्लास्टिक झोलाका कारण कालै बनेको छ । वीरगंजमा प्लास्टिकको झोला उत्पादन गर्ने कारखानाहरू नै छन् । प्लास्टिकको झोला उत्पादन गर्दा २० माइक्रोन वा सोभन्दा बढी माइक्रोनको मात्र उत्पादन गर्नुपर्ने कानुनमा व्यवस्था गरिएको छ तर यसको सफल कार्यान्वयन हुन सकेको छैन । आर्थिक विकास र वातावरण संरक्षणबीच अन्योन्याश्रित सम्बन्धबाट दिगो विकास हुने कुरालाई मध्यनजर  राख्दै वातावरण संरक्षण गर्ने, वातावरण संरक्षण क्षेत्र घोषणा गर्ने, प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्ने, खुला दिसामुक्त क्षेत्र घोषणा गर्नेलगायत वातावरण प्रदूषण नियन्त्रण गर्न विभिन्न मापदण्ड निर्धारण गरिएको छ । वीरगंजमा तत्काल गर्नुपर्ने कार्यमध्ये प्लास्टिकमुक्त क्षेत्रको घोषणा पनि हो । प्लास्टिक झोलाले वीरगंजको वातावरण प्रदूषित र नगरको सौन्दर्य नाश गरेको छ । प्लास्टिक झोलामय वीरगंजलाई तत्काल कपडाको झोला, कागजको झोला मात्र प्रयोग गर्न पाइने क्षेत्रमा रूपान्तरित गरिनुपर्दछ । वीरगंज नगरपालिकाले ‘स्वच्छ हराभरा वीरगंज’को नारा त अघि सारेको छ तर व्यवहारमा त्यसको कुनै अर्थ देखिंदैन । वीरगंज औद्योगिक क्षेत्र पनि हो, औद्योगिक फोहर पानीले नगरको बीचबाट बगेको श्रीसिया नदी पूर्ण प्रदूषित बनेको छ । सडकका सबै ढल निकासविहीन छन् । ढल र सार्वजनिक स्थल पूर्णरूपमा प्रदूषित हुँदा लामखुट्टेको वृद्धि पनि भएको छ । वीरगंजका सरोकारवालाहरू अति प्रदूषित नगर हुँदा ज्यादै पीडित छन् । वीरगंज नगरपालिकाले प्रत्येक वर्ष सरसफाइका नाममा ठूलो धनराशि खर्च गर्दछ तर त्यसको खासै उपलब्धि देखिंदैन । जति सफा गरे पनि सफा नभएको हो कि ? सरसफाइ नै नगरिएको हो यसको उत्तर कसबाट पाउने ? नगर सफाइमा निरन्तरताको आवश्यकता छ । एक दिन, एक क्षेत्रमा नगरको सफाइ अभियान सञ्चालन गरेर पूरै नगर स्वच्छ, सफा हुने आशा गर्न सकिंदैन । व्यवस्थित, योजनाबद्ध र दिगो विकासको अवधारणा वीरगंज उपमहानगरपालिकाले अवलम्बन गरेको पाइँदैन । नगर सफाइका लागि दिनहुँ फोहरमैला व्यवस्थापन गरिनुपर्दछ । फोहरमैला व्यवस्थापनका लागि डम्पिङ साइट आवश्यक हुन्छ । नगरको फोहर पानी सलल बग्ने ढल निकास हुनुपर्दछ । वीरगंजमा ढल निकासबिना केही पूर्वाधार विकास भएकोले वातावरणीय स्वच्छ राख्ने समस्या जटिल बन्दै गइरहेको छ । वीरगंज उपमहानगरपालिकामा कार्यरत सफाइ कर्मचारीहरूले पूर्ण डिउटी आवर काम गरेको पाइँदैन ।  नेपालमा सड्ढलित कबाडी सामान (पुन: प्रयोग गर्न सकिने वस्तु) वीरगंजको बाटो भएर ठूलो परिणाममा भारतमा पुग्ने गरेको छ । सडक किनाराको खाली ठाउँ, नगरभित्रको ऐलानी सार्वजनिक खाली जग्गा, खोलाको किनारको खाली जग्गा फोहर विसर्जन गर्ने थलोका रूपमा परिणत भएका छन् । वीरगंज उपमहानगरपालिकाको प्रमुख काम भनेकै नगर क्षेत्रलाई हरबखत सफा सुग्घर राख्नु हो तर नगरपालिकाले आफ्नो प्रमुख कर्तव्य बिर्संदै गइरहेको छ । वीरगंज उपमहानगरपालिकाबाट हुँदै आएको निर्माण कार्य लगभग गुणस्तरहीन छ । निर्माण कार्य दिगो छैन । एक महिना अघि पिच गरिएको, असार महिनामा आएर मात्र पिच गरिएको सडक एक महिनापछि नै पूर्ण भत्किएको पाइन्छ । पब्लिक अडिट त छँदैछैन, सम्बन्धित निकायको अनुगमन पनि छैन । धूलो, धूवाँ र ध्वनि प्रदूषण त छँदैछ । हावापानी, माटो सबै प्रदूषित बन्दै गइरहेको छ । प्रदूषण वृद्धिले नगरवासीको स्वास्थ्य अवस्था पनि बिग्रिंदै गएको छ । नगरभित्र संयुक्त फोहर पानी प्रशोधन प्लान्ट छैन । वीउमनपाका काम कारबाइ छिटोछरितो र पारदर्शीरूपमा सम्पादन भएको पाइँदैन । वीरगंज उपमहानगरपालिकालाई प्लास्टिक झोलामुक्त बनाउने अभियान छिट्टै सञ्चालन गर्नुपर्दछ । वातावरणीय मापदण्ड तयार पारिनुपर्दछ । विज्ञान र प्रविधिको विकास र उपयोग तथा वातावरणमैत्री विकासलाई मात्र प्राथमिकतामा राखिनुपर्दछ । स्थानीय निकाय वीरगंज नगरले सङ्घीय अवधारणा अन्तर्गत रहेर आफ्ना दैनिक कार्य सञ्चालन गर्नुपर्दछ । तब मात्र प्रगति हासिल हुन सक्दछ । श्रोतबाट http://www.prateekdaily.com/2016/07/blog-post_891.html