वीरगञ्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीको दादागिरीका कारण ढुवानी भाडा दोब्बर

20

वीरगन्ज २ भदौ वीरगञ्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीले सिण्डिकेट खडा गरी ढुवानी भाडा दोब्बरभन्दा बढी वृद्धि गरेका छन् । वीरगञ्ज बन्दरगाहबाट वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका लागि ढुवानी गर्दैआएका व्यवसायीले बुधवारदेखि भाडा बढाएका हुन् । बन्दरगाहबाट फलाम तथा कण्टेनर ढुवानी गर्दै आएका ढुवानी व्यवसायीहरूको संस्था पर्सा यातायात व्यवसायी सङ्घले एकतर्फी निर्णय गरी सेवाग्राहीलाई भाडा बढाइएको जानकारी पठाएको थियो ।

सङ्घका महासचिव हरेराम प्रसादले २७ मेट्रिकटन तौलबराबरको मालसामान ढुवानी गरेको १५ हजार रुपैयाँ तिर्नुपर्ने बेहोराको पत्र पठाएका छन् । यसअघि प्रतिटन २ सय ५६ रुपैयाँ भाडा थियो । व्यवसायीले तोकेको नयाँ दरअनुसार अब एक मेट्रिकटनको ५ सय ५५ रुपैयाँ पर्छ । यसअघि कोरिडोरका लागि फलाम र कण्टेनर ओसार्ने लहरीले ५० देखि ६० मेट्रिकटनसम्म ओसार्ने गरेकोमा ट्राफिक प्रहरीले कडाइ गरेपछि भाडा बढाउनु परेको ढुवानी व्यवसायीले बताएका छन् ।

व्यवसायीले तोकिएको नयाँ दरमा भाडा नपाए ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । उनिहरूले कोरिडोरका उद्योगको नाम उल्लेख गरी पत्रचार गरेका छन् । १८ ओटा उद्योगका नामै लेखेर आफूहरूले तय गरेको भाडा नपाए ती उद्योगको ढुवानी ठप्प पार्ने धम्कीपूर्ण निर्णयसहितको जानकारी गराएको एक उद्योगीले बताएका छन् । ‘ढुवानी व्यवसायी सङ्घले आप्mनो निर्णयको प्रतिलिपिसहित जानकारी पठाएको छ,’ ती उद्योगीले भने । त्यसैगरी, सङ्घमा दर्ता नभएका गाडीलाई ढुवानी गर्न नदिइने पनि बताइएको छ । ‘साउन ३२ भित्र डेलिभरी अर्डर नलिएका गाडीलाई समावेश नगरिने निर्णयमा बताइएको छ,’ उनले बताए ।

लहरीको ब्लूबूकमा लोडिङ क्षमता २७ मेट्रिकटन भएकाले ट्राफिकले तोकिएको क्षमतामा मात्र बोक्न दिएपछि व्यवसायीले सिण्डिकेट खडा गरेका हुन् । व्यवसायीले यसअघि यातायात व्यवस्था कार्यालय, ट्राफिक र व्यवसायीबीच कोरिडोरका लागि लोड क्षमता कार्यान्वयन नगर्ने सहमति भएको दाबी गरेका छन् । अहिले २७ मेट्रिकटनको नियम लगाएपछि भाडा बढाउनु परेको उनीहरूको भनाइ छ ।

मध्यमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक ईश्वरीप्रसाद चापागार्इं भने यस्तो कुनै सहमति नभएको र ढुवानी व्यवसायीले नियमविपरीत ओभरलोड ढुवानी गर्दै आएको बताउँछन् । ‘त्यस्तो कुनै सहमति भएको छैन । उनीहरूले आफूखुशी भनेका हुन् ।

ब्लुबूकमा तोकिएकोभन्दा बढी भार बोक्न पाइन्न,’ प्रहरी उपरीक्षक चापागार्इंले भने । उनले टुक्र्याउन नमिल्ने सामान भएमात्रै यातायात व्यवस्था कार्यालयले बढी तौलबाराबरको भाडा जरीवाना गरी ढुवानी गर्न दिने बताए ।

ढुवानी व्यवसायीले सिण्डिकेट लादेको भन्दै वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विरोध गरेको छ । सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाले स्थानीय प्रशासन र सरोकारका सबै पक्षलाई यसबारे जानकारी गराइएको बताए । ‘प्रशासनले सिण्डिकेट तोड्न तत्काल पहल गर्नुपर्छ,’ उनको भनाइ छ । सिण्डिकेटलाई न्यायालयले समेत गैरकानूनी भनिसकेकोमा अहिलेसम्म विभिन्न नाममा कायमै रहनु बिडम्वना भएको उद्योगी राजेश क्यालको भनाइ छ । ‘सिण्डिकेटको मार अन्तिममा उपभोक्तामै जाने हो । यसमा नियन्त्रणका निकाय चनाखो हुनुपर्‍यो,’ क्यालले आर्थिक अभियानसित भने ।

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे भने ‘चाँडै’ नै समस्याको निकास खोजिने बताउँछन् । व्यवसायीले भने बुधवारबाटै बढेको दरमा भाडा लिएका छन् । बन्दरगाहमा व्यवसायीले भाडा बढाउनुलाई गैरकानूनी भन्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले कारबाही गर्ने बताए । ‘सिण्डिकेट लगाउन पाइँदैन, चाँडै कारबाही गर्छौं,’ उनले भने ।